विराटनगर,११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता एवं कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशमा गठबन्धन दललाई सरकार निर्माण गर्न समर्थन गर्ने कुरा निराधार भएको बताउनु भएको छ ।
राप्रपा मोरङद्वारा आज यहाँ आयोजित जिल्ला कार्य समिति विस्तार एवं सपथ ग्रहण समारोहमा उहाले पार्टी सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने हुनाले गठबन्धनको सरकारमा सहभागी हुन समर्थन गर्ने कुरा हल्ला मात्र भएको प्रष्ट पार्नु भयो ।
पूर्व मन्त्री समेत रहनु भएका नेता सिटौलाले सङ्घीय संसदको पूर्वाधार विकास समितिको अध्यक्षमा राप्रपालाई दिएर कोशी प्रदेशमा समर्थन गर्ने हल्लामा कुनै सत्यता नरहेको बताउनु भयो ।
उहाँले कोशी प्रदेशमा रहेका आफ्ना छ जना सांसदले नेकपा एमालेलाई ४७ पुर्याउने अवस्थामा मात्र समर्थन गर्ने छन् भन्दै संविधानको धारा १६८ को उपधारा( ३) मा निर्माण हुने प्रदेश सरकारमा सहभागी समेत नहुने प्रष्ट पार्नु भयो ।
राप्रपाका महामन्त्री प्रह्लादप्रसाद साहले राप्रपा जनताप्रति उत्तरदायी हुनका साथै सत्ता प्रलोभनमा नफस्ने दावी गर्नु भयो ।
राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालको अध्यक्षमा २८ सदस्य कार्य समितिको सपथ ग्रहण समारोहमा पार्टीका सह प्रवक्ता दिनेश साह, केन्द्रीय सदस्यहरु उमा थापा, विश्वमोहन थापा, केदार कोइराला,क्षेत्रीय अध्यक्ष रतन तामाङ, प्रदेश सचिव भरत पोखरेल, सुनसरी अध्यक्ष दुर्गा बस्नेतले नवीन राप्रपा –२०८० को नीति अनुसार आगामी निर्वाचनलाई ध्यानमा राखी पार्टीलाई गाउँ टोलमा विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रतिक्रिया