संविधान कार्यान्वयनमा गएको पाँच वर्ष खेर गयो– संयोजक सिटौला

इनेप्लिज २०८० भदौ ५ गते २१:५५ मा प्रकाशित

विराटनगर, ५ भदौ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज यहाँ आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रमका प्रमुख श्रोता रहनु भएका सिटौलाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा सो कुरा बताउनुभएको हो ।

उहाँले सरकार देश र जनताका निम्ति इमान्दार देखिनु पर्छ भन्दै संविधान कार्यान्वयको पक्षमा गएका पाँच वर्ष सरकारले समय खेर फालेको जिकिर गर्नुभयो ।

नेता सिटौलाले सरकारले जनताका आवश्यकता र चाहनालाई नजरअन्दाज गर्न नहुने भन्दै संविधान जारी पछि बनेको सरकारले तीन वर्ष भित्रमा जनताका लागि कानून बनाई सक्नु पथ्र्यो भन्नुभयो ।

उहाँले सङ्घीय सरकारले प्रदेश सरकारलाई जनसम्पर्क कार्यालय जस्तो व्यवहार गरेको भन्दै जबसम्म प्रदेश सरकारको आफ्नो शासन र प्रशासन हुँदैन तबसम्म सङ्घीयताको मर्म जनताले नबुझ्ने धारणा राख्नुभयो ।

उहाँले कोशी प्रदेश सरकारको सम्बन्धमा प्रमुख प्रतिपक्ष दलले सरकार गिराउने खेलमा लाग्नुृ भन्दा पनि सशक्त्त भूमिका निर्वाह गरी जनताका पक्षमा काम गर्नु पर्ने सुझाव दिँदै संवाद केन्द्रले सात वटै प्रदेश यस किसिमको कार्यक्रम गर्ने आएको निस्कर्ष शिर्षस्थ नेतालाई बुझाउने जानकारी दिनुभयो ।

यसैगरी केन्द्रले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली, सुशिला ढकाल, तारामणि गुरुङ तथा नेपाली कांगेसका नेता प्राडा रामप्रसाद पोखरेल, कन्दनराज काफ्ले, यदु विष्ट, देउमान थेवे, रामकुमार चौधरी र खड्ग फागो लगायतले बोल्नु भएको थियो ।

उहाँहरुले सारसंक्षेपमा जनप्रतिनिधि आफ्ना लागि होइन जनताका लागि काम गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया