रौतहट
आम जनता पार्टी (आजपा)का राष्ट्रिय अध्यक्ष तथा साँसद प्रभु साहले मौलापुरमा शिक्षण अस्पताल सञ्चालन हुने बताएका छन् । नेपाल सरकार, सहरी विकास मन्त्रालयको २७ करोड ५६ लाखको योजनामा मौलापुरमा निर्माण भएको सहिद स्मृति बहुद्देश्यीय भवनको विहीवार उदघाटन गर्दै पूर्वमन्त्री साहले मौलापुरमा स्थानीयवासीको सहयोगले छिट्टै व्यवस्थित शिक्षण अस्पताल सञ्चालनको सपना पूरा हुने विश्वास लिएका बताएका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले सरकारको निरन्तर मधेश विरोधी व्यवहारका कारण तराई मधेशमा वर्षेनी डुबानको समस्या हुने गरेको बताएका छन् । पहाडमा हुने वर्षाको कारण तराई मधेश डुबानमा पर्ने गरेकोले पहाडका मानिसले पनि तराईको डुबानको नैतिक दायित्व लिनुपर्ने धारणा राखेका छन् ।
हरेक वर्ष तराई मधेशमा बाढीको कारण जनधनको क्षति हुने गरेको, बालीनाली नोक्सान हुने गरेको तथा मच्छरको समस्या बढ्ने गरेको बताउँदै साहले सरकारको मधेश विरोधी व्यवहारका कारण मधेशमा डुबान लगायतका समस्या निरन्तर बढिरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
देशमा बढिरहेको आर्थिक समस्या प्रति सरकार नै दोषी रहेको आरोप लगाउँदै नेता साहले सरकारले बेरोजगारी बढाएर बेरोजगारीको बेपार गरेको आरोप पनि लगाएका छन् । यसै गरी नेता साहले राजनीतिक व्यवस्था र अस्थिरताको कारणनै देशको आर्थिक अवस्था चिन्ताग्रस्त बनेको बताएका छन् ।
सरकारको गलत नीतिको कारण गाउँमा आर्थिक कारोबार बन्द भएको उल्लेख गर्दै नेता साहले सरकारले सर्वसाधारणलाई बैंकमार्फत ऋण नदिएको तथा गाउँको ऋण लेनदेन पनि प्रभावित भएको बताएका छन् ।
देशको यस्तै अवस्था रहिरहे जनता चुप लागेर नबस्ने सम्भावना रहेको उल्लेख गर्दै नेता साहले समस्यामा परेकाहरु समाधानको लागि चुप लागेर नबस्ने बरु विद्रोह गर्ने चेतावनी पनि दिएका छन् ।
मौलापुर नगरपालिकाले किनेको जमिनमा सरकारको लगानीमा बहुद्देश्यीय भवन निर्माण भएको नगर प्रमुख रिनाकुमारी साहले जानकारी गराएकी छन् ।
कार्यक्रममा पूर्वसाँसद समिना हुसेन, पूर्व प्रदेश साँसद कुन्दन कुशवाहा, आजपाका महासचिव उपेन्द्र साह, मौलापुर शिक्षा शाखा प्रमुख राजेन्द्र साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलगायतले मन्तव्य व्यक्त गर्दै मौलापुर नगरपालिकाको सक्षम नेतृत्वले गर्दा देशको चर्चित स्थानीय तहको रुपमा काम गर्न सफल भएको भन्दै प्रशंसा गरेका छन् ।
प्रतिक्रिया