अध्यावधिक गरिएको :  हवाईको माउई टापुमा डढेलोको कारण मृत्यु हुनेको संख्या कम्तिमा ५३ पुग्यो, बाइडेनद्वारा मुख्य प्रकोपको घोषणा

इनेप्लिज २०८० साउन २५ गते २३:४८ मा प्रकाशित

अध्यावधिक गरिएको :  हवाईको माउई टापुमा तीव्र गतिमा फैलिएको डढेलोका कारण मृत्यु हुनेको संख्या बिहीबार बढेको सिबिएस न्यूजले समाचार लेखेको छ । समाचारका अनुसार कम्तीमा ५३ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बताएका छन्। ऐतिहासिक शहर लहैनालाई झण्डै ध्वस्त पारेको आगलागी ८० प्रतिशत नियन्त्रणमा आएको बताइएको छ ।

अधिकारीहरूले पहिल्यै नै मृत्युको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका थिए । टापुमा धेरै आगो अझै बलिरहेको छ भने टोलीहरू जलेको क्षेत्रहरूको खोजी गर्न फैलिएका छन् ।

अधिकारीहरूले बिहीबार टापुको पश्चिमी भागमा रहेको प्रकोप क्षेत्रका मानिसहरूलाई आश्रयस्थल वा माउईको काहुलुई विमानस्थलमा लैजान यात्रीयान (बस)हरू उपलब्ध गराएका छन् । माउई अधिकारीहरूका अनुसार टापुबाट उडानहरू पर्खँदै गर्दा बुधबार राति सम्म १,४०० व्यक्तिहरू विमानस्थलमा बसेका थिए।

राष्ट्रपति जो बाइडेनले बिहीबार माउईका लागि संघीय प्रकोप घोषणालाई अनुमोदन गरेका छन् । यस कदमले आगोबाट प्रभावित टापुका मानिसहरूलाई संघीय कोष उपलब्ध गराउँछ।

तट रक्षक (कोस्ट गार्ड)ले बिहीबार १७ जनालाई पानीबाट उद्धार गरेको छ भने ४० जना बाँचेकाहरूलाई किनारमा फेला पारेको जनाएको छ । माउईमा १६ वटा सडकहरू अझै बन्द छन् ।

अधिकारीहरूले यसअघि २७१ वटा संरचनाहरू क्षतिग्रस्त वा ध्वस्त भएको र दर्जनौं मानिसहरू घाइते भएको बताएका थिए।

बुधवार, चालक दलहरूले माउईमा धेरै ठाउँहरूमा आगो निभाउन जारी राखेका थिए। अधिकारीहरूले आगन्तुकहरूलाई टाढा रहन आग्रह गरेका थिए ।

आधिकारिक रुपमा माउईमा १ लाख ६० हजार बासिन्दाहरु रहेका छन भनि सिएनएनले उल्लेख गरेको छ । साथै हजारौ मानिसहरु बिस्थापित भएका छन् ।

लहैनाको पर्यटकीय केन्द्रमा २७१ भन्दा बढी संरचना प्रभावित भएका छन् । नौ हजार मानिसको पर्यटकीय र आर्थिक केन्द्र रहेको लहैनाको अधिकांश भाग आगलागीबाट जलेर नष्ट भएको छ ।

प्रतिक्रिया