विदेशी लिगमा फेरि च्याम्पियन बन्न सकेनन सन्दीप

इनेप्लिज २०८० साउन २२ गते ७:०७ मा प्रकाशित

काठमाडौ, तेस्रो संस्करणको ग्लोबल टी–२० क्यानडाको उपाधि नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीसम्मिलित मोन्ट्रियल टाइगर्सले जितेको छ ।

आइतबार राति सम्पन्न फाइनल खेलमा अर्का नेपाली खेलाडी सन्दीप लामिछानेआवद्ध सर्रे जग्वार्सलाई ५ विकेटले हराउँदै मोन्ट्रियलले उपाधि जितेको हो ।

योसँगै दीपेन्द्र विदेशी लिगमा डेब्यू गरेकै सिजनमा च्याम्पियन सदस्य बने ।

मोन्ट्रियल उपाधि दिलाउन उनको पनि महत्वपूर्ण भूमिका रह्यो । दीपेन्द्रले आफ्नो डेब्यू सिजनमा ६ इनिङमा १४३ रन बनाउनुका साथै २ विकेट लिए । फाइनलमा उनी १६ रनमा रिटायर्ट आउट भए ।

विस्फोटक ब्याटिङ गर्न असमर्थ भएपछि उनलाई आन्द्रे रसेलले प्रतिस्थापन गरे । दीपेन्द्रको स्थानमा रसेललाई पठाउने मोन्ट्रियलको निर्णय सही सावित पनि भयो ।

उनले अन्तिम बलमा छक्का हिर्काउँदै मोन्ट्रियललाई च्याम्पियन बनाए । फाइनलमा पूरा ब्याटिङ गर्न नपाए पनि समग्रमा दीपेन्द्रको प्रदर्शन राम्रो रह्यो । यसपटकको प्रदर्शनले उनले आगामी सिजनमा पनि मौका पाउने सम्भावना बढेको छ ।

यता स्टार स्पिनर सन्दीप लामिछानेले अन्य खेलमा राम्रो प्रदर्शन गर्दा फाइनलमा भने प्रभाव जमाउन सकेनन् । फाइनलमा ३ ओभर मात्र बलिङको मौका पाएका उनले बिनाविकेट २० रन खर्चिए ।

फाइनलमा किफायती बलिङ गरे पनि सन्दीपलाई पूरा ओभर नदिएको भन्दै धेरै समर्थक र विश्लेषकले जग्वार्सका कप्तान इफ्तिखार अहमदको आलोचना पनि गरिरहेका छन् ।

अन्तिम ४ ओभरमा मोन्ट्रियललाई जितका लागि ५२ रन आवश्यकता थियो । यो अवस्थामा जग्वार्सले उपाधि जित्ने सम्भावना प्रवल थियो ।

तर, कप्तान अहमदले महँगा सावित भइरहेका तीव्र गतिका बलरलाई नै प्राथमिकता दिए । फलस्वरूप जग्वार्सले जितिसकेको उपाधि मोन्ट्रियललाई सुम्पिन पुग्यो ।

योसँगै सन्दीप फेरि एकपटक विदेशी लिगमा च्याम्पियन सदस्य बन्न चुके । अहिलेसम्म उनले एक दर्जनभन्दा बढी टिमबाट विदेशी लिग खेलिसकेका छन् । तर, सन्दीपले फाइनल खेलेको कुनै पनि टिमले उपाधि भने जित्न सकेको छैन ।

उपाधि जिताउन नसके पनि उनले विदेशी लिगमा समर्थकको मन भने जितिरहेका छन् ।

समग्रमा तेस्रो सिजनको ग्लोबल टी–२० मा पनि सन्दीपको प्रदर्शन उत्कृष्ट रह्यो । उनले ६ इनिङमा ५.१७ को उत्कृष्ट इकोनमीमा ११ विकेट लिए ।

प्रतिक्रिया