काठमाडौ, मौसमको न्यूनचापीय रेखा नेपाल नजिक पुगेको छ । जसकारण आजदेखि तुलनतात्मकरूपमा बढी पानी पर्नेसक्ने मौसमविद् शान्ती कँडेलले जानकारी दिइन् ।
उनका अनुसार न्यूनचापीय रेखा पूर्व र पश्चिम दुवै क्षेत्रमा नेपाल नजिक रहेको छ । सोमबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मधेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावा हुरी जस्ता प्रकोप हुनसक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया