खसखसे

नगिता लेप्चा राई, जलपाईगुड़ी, भारत २०८० साउन १८ गते २१:३२ मा प्रकाशित

मतलब, चासो, वास्ता, प्रयोजनहीन कुरामा चियोचर्चा गर्ने वा चासो लिने व्यक्तिलाई खसखसे भनिन्छ । अरुले गरेका जस्चै राम्रो काम पनि असह्य हुने, मन नपर्ने व्यक्ति नै खसखसे हुन् । यस्ता खसखसे स्वाभावका व्यक्ति प्रत्येक गाउँ-घरमा पाइन्न भन्न सकिन्न ।

हाम्रो गाउँमा पनि एकजना खसखसे छन् । खसखसे भनेपछि उनलाई नचिन्ने कोही छैनन् । तर उनको छेउमा हामी उनलाई खसखसे नभनेर क्यापटनव मामा नै भन्ने गर्दछौं । तर हाम्रो गाउँमा तपाई बाई चान्स आउनुभयो र क्यापटन मामा भनी सोध्नुभयो भने यो नामका मान्छे यो गाउँमा छैनन् भनी तपाईलाई फर्काइदिन्छन् । यसर्थ कुनै दिन क्यापटन मामालाई खोज्दै आउनुभयो भने खसखसे भन्नुहोला । बस भेटिहाल्नुहुन्छ ।

उनको खास नाम अहिलेसम्म हामीलाई थाहा छैन । सोध्नु पनि भएन । पल्टनमा क्यापटेनबाट रिटायर्ड भएर आएका हुन् भन्छन् । तर उनको आनीबानी चालचलन र हाउभाउ हेर्दा क्यापटन त होइनन् जस्तो लाग्छ । जे भए नि मान्छे दिलदार मिलनसार र अत्यन्तै सहयोगी छन् । गाउँमा कसैलाई पनि साह्रो गाहो पऱ्यो कि उनी नै पहिले कुद्छन् । मरौ परौं पूजा आजा बिहे बटुलमा यी क्यापटन मामा छैनन् भने गाउँकै हात भाँचिएको जस्तो हुन्छ । गाउँमा सबैले उनलाई मनपराउँछन् ।

काम सघाउनु, गाईलाई घाँस, दाउरा आदि ल्याइदिनु उनको आदत नै भइसकेको छ । र उनलाई गाउँकाहरूले एक छाक नखुवाइ पठाउँदैनन् । तर जुन घरमा खाएर आउँछन् बेलुकी गाउँका युवाहरू थुपारेर त्यसै घरको कुरा गर्छन् । के साह्रो खसखस लागेको । त्यस घरकी फलानु छोरीले लुगा कस्तो लगाएकी हई । हेर्नु पनि लाजमर्दो । भरे तिनको छेउमा भने आहा भाञ्जीलाई यो ड्रेस अपमा साह्रै सुहायो हौ । कति गर्जियस देखेको । घरकी भाञ्जी फुरुक्कै ।

हामी कहिले काहीँ दिनभरि मैदानमा बसी गफिन्छौं । एकजना उता बाटोबाट आए क्यापटन मामालाई खसखस हुन्छ । आमामा….हेर न…त्यो भाञ्जीको ड्रेस । ब्लाउज हेर हेर । लाजैमर्दो । घरबाट पनि कस्तो लुगा लाउने अनुमति दिएको हौ ।

बिहे बटुल, न्वारान वा बर्थ डे तिरबाट आएर त्यही घरको खोइरो खन्छन् । हिजो यस्तो खाको कि….आमामा कति कञ्जुस गरेर मासुको चोक्टा दिएको । मासु पनि तङरङ्ङै झोल मात्रै । त्यो भन्दा राम्रो ता ढुङ्गा उसिनेर खाकै राम्रो नि । ड्रिङ्क्स त परी परीका । तर एक पेगभन्दा बढ़ता दिए पो । भएन त्यो एकदमै भएन । एक पेगले तिते आन्द्रासम्म पनि पुग्दैन । अरे पल्टनमा हामी बियरले मुख धुन्थ्यौं । क्या बात यस्तो ड्रिङ्क्स त हामी ड्रमका ड्रम पिउँथ्यौं । साह्रै कञ्जुस यस घरकाहरू ।

कुनै कुरामा पनि सन्तुष्ट हुँदैनन् यी खसखसे उर्फ क्यापटन मामा । उनले नजानेको नपुगेको नदेखेको ठाउँ कुनै छैन । देश विदेश त उनको धारा पानी भन्छन् । एकजनाले सोध्यो, क्यापटन मामा तपाई त संसारको कुना काप्चा घुमेर आउनुभएको छ । त्यतिबेला ए जर्मन, जापान, कम्बोडिया, निदरल्याण्ड त उल्टी आउने जति घुमेर आको ।

मेरी साथीले सोधी, मामा….अच्छा तपाई द्राघिमांश पुग्नुभएको छ ?

क्यापटन मामाको जवाब, ए द्राघिमांश …त्यता त पुग्या छैन नि । हेरौ पल्टन गइएछ भने त्यहाँ पनि पाइला टेकी आउँला ।

क्यापटन मामा ठूला ठूला हावाका कुरा गर्नमा पनि निपुण । उनको नजरमा कुनै कुरो पनि ठिक होइन । सबै गलत । यो भएन, त्यो भएन ।

मैले नयाँ स्कुटी किनेँ । क्यापटन मामा खुसी भएर एक चक्कर लाएर आउँछु भनी मेरो स्कूटी लिएर गए । कता हराए हराए…चरालाई ढुङ्गा हाने झैं भयो । बेलुकी साँझ साँझ पख स्कुटी लिएर घर आए । मैले रिसले आँखा देखेकी थिइनँ । स्कुटी ल्याएर उनी बक्न थाले – भाञ्जी तिम्रो स्कुटी सबै राम्रै छ कि तर अलिक यसको कलर पो फेड फेड लाग्यो । अर्कै कलरको किन्नुपर्ने नि । अनि यसको सिट पनि ढुङ्गाजस्तो कड़ा न कड़ा । पछिल्तिर दुःखेर झण्डै माऱ्यो । अब के भन्ने खसखसेलाई । यो स्कुटीले मलाई कुनै प्रकारको असुविधै भएको छैन । फेरि थप्छन्, जे होस् भाञ्जीको स्कूटी चै खासा छ । यस्तो स्कुटी यो गाउँमा कसैको छैन अन्त । दिस इज बिग च्यालेञ्ज । तर क्यापटन मामाको कुरामा म फुर्किँदै फुर्किनँ ।

भोलिपल्ट सुनेकी, क्यापटन मामाले मेरो स्कुटीबारे भन्नु नभन्नु भने अरे । त्यो पनि स्कुटी हो ? कम्ति दामको हो त्यो । न कलर राम्रो न सिट राम्रो । यस्तो पनि स्कुटी हो ? नसुहाओस् है फेरि । तर मलाई भेट्यो कि थम्बस अप गरी भाञ्जी स्कुटी चैं मान्नुपर्छ है । यो स्कुटी भाञ्जीलाई गजबले सुहाएको छ है ।

गाउँमा मान्छे मर्दा पनि जस छैन…मर्दा पनि जस छैन क्यापटन मामालाई । यो मान्छे यसरी मर्नु हो ? जिब्रो निकालेर मरेको हेर न । यो घरमा त्य़ो नानी नजन्मिनुपर्ने हो । विचाराले भविष्यमा बहुत दुःख पाउँछ ।

फेरि उही घरमा हाम्रो बड़ाको मृत्यु साह्रै राम्रो पाराले भयो । न कसैलाई दुख दिए न कसैलाई पीर । मर्ने बेलामा पनि परैले जिब्रो निकालेर मरेछन् । यो पनि राम्रो साइन हो नि । के भन्ने क्यापटन मामालाई ? मान्छे जस्ररी नै मरोस् के को खसखस ?

सबैको भलो चिताउने तर सबैको कुरामा खसखस गर्नमा निपुण क्यापटन मामा । प्रत्येक कुरामा उनलाई खसखस हुन्छ भन्ने कुरो गाउँका सबैलाई थाहा भइसकेको कुरा हो । र त उनलाई उचाल्न उस्काउन गाउँका उस्तै उस्तै केटा केटीले के के सोध्छन् । उनलाई पनि के निहुँ पाउँ कणिका बुकाउँ भनेजस्तो खसखस भइहाल्छ ।

स्वीमिङमा गाउँकै दाज्यूले कुकुर लिएर गए । अचम्मभ कुकुर स्विमिङ पूलमा नतैरिएर पानी माथि माथि हिँड़्न थाल्यो । हेर्नेहरू सबै छक्क परे । एकजना उपद्रे भाइले सोधि हाल्यो, अच्छा मामा मनिन्द्र दाज्यूको कुकुरलाई देख्नुभयो ?

  • किन के भयो र ? कुकुर हो कुकुर देखेँ । कुकुरलाई चितुवा त देखिनँ ।
  • -होइन हो….कुकुर त तैरिनुपर्न होइन…त्यो त पानी माथि माथि पो हिँड़्यो । यस्तो कुकुरलाई त वर्ल़्ड डग सो मा लानु पाए त गतिलो प्राइज साथै क्यास मनी जित्नेथियो होकि ।
  • खसखसे मामाको तुरुन्तै जवाब – अरे त्यो पनि कुकुर हो ? खासमा त्यो कुकुरले नि तैरिन जान्दैन । कुकुर जातिको नाममा त्यो कुकुर कलङ्क हो ।
    भोलिपल्ट मनिन्द्र दाज्यूको छैउमा, आहा…भाञ्जोको कुकुर चै मैले मानेँ है । यूनिक,,,अभूतपूर्व नि । पानीमाथि हिँड्ने कुकुर संसारमै देखिनँ मैले । यो कुकुरले चाहिँ भाञ्जोको मात्र होइन कुकुर जातिको नाक राखेको छ है नाक राखेको छ । रियल्ली म छक्कै परेँ नि ।

के भन्ने क्यापटन मामालाई ? यता पनि ठिक उता पनि ठिक । जस्तो जे सुकै भए पनि उनको खसखस कहिल्यै सकिँदैन ।

प्रतिक्रिया