भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी एसिया कप क्रिकेटको उपाधि

इनेप्लिज २०८० साउन ८ गते २:०३ मा प्रकाशित

एजेन्सी, चिर प्रतिद्वन्द्वी भारतलाई एक सय २८ रनको विशाल अन्तरले हराउँदै एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रनको विशाल स्कोर बनाएको थियो ।

पाकिस्तानका लागि मुहम्मद तैयब ताहिरले टोलीका लागि सतकीय योगदान गरेका थिए । उनले एक सय आठ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ७१ बलको सामना गरी चार छक्का र १२ चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान सइम अयुब र सहिबजादा फरहान उल्लाहले पनि अर्धसतकीय पाली खेले । सइमले ५९ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । अर्का ओपनर सहिबजादाले ६५ रन बनाए ।

उनले ६२ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । ओपनिङ ब्याट्सम्यानले एक सय २१ रनको साझेदारी गरेका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका ओमाइर बिन युसुफले पनि टोलीको खातामा ३५ रन थपेका थिए । सातौं नम्बरका ब्याट्सम्यान मुबासिर खानले पनि ३५ रन बनाए । भारतीय बलर राजबद्र्धन हंगारगेकर र रियान परागले दुई–दुई विकेट लिए ।

भारतले ४० ओभरमा अलआउट हुनुअघि दुई सय २४ रनमात्र बनाउन सक्यो । भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन बनाए । उनले ५१ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।

भारतीय टोलीका कप्तान यस ढुलले ३९ रन बनाए । ओपनर साई सुदर्शन २९ रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानी टोलीका बलर युफयान मोकिमले तीन विकेट लिए ।

मेहरान मुमताजले दुई विकेट हात पारे । अर्साद इक्बालले दुई विकेट लिए । मुहम्मद वसिमले पनि दुई विकेट लिए । मुबासिर खानले एक विकेट हात पारे ।

प्रतिक्रिया