दीपेन्द्रआवद्ध टोलीको लगातार दोस्रो जीत, सन्दीपको खेल वर्षाले प्रभावित

इनेप्लिज २०८० साउन ८ गते १:५९ मा प्रकाशित

काठमाडौ, नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीसम्मिलित मोन्ट्रियल टाइगर्सले क्यानडामा जारी ग्लोबल टी–२० लिगमा लगातार दोस्रो जीत निकालेको छ ।

दोस्रो जीत निकाल्नेक्रममा मोन्ट्रियलले गएराति सम्पन्न खेलमा मिसिसाउगा प्यान्थर्सलाई ७ विकेटले हरायो ।

पहिलो मोन्ट्रियलले सरे जगुआर्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा प्यान्थर्सले दिएको १ सय ४१ रनको लक्ष्य मोन्ट्रियलले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान क्रिस लिनले ४५ बलमा ९ चौका र १ छक्कासहित अविजित ६४ रन बनाए । यस्तै, शाकिवअल हसनले ३६ र शेरफन रदरफोर्डले २७ रन जोडे ।

दोस्रो खेलमा दीपेन्द्रले भने प्लेइङ–११ मा मौका पाएका थिएनन् । प्यान्थर्सका लागि जसकरण सिंह, प्रवीण कुमार र उस्मान कादिरले १/१ विकेट लिए ।

त्यसअघि ब्राम्पटनमा टस हारेर ब्याटिङको निम्तो पाएको प्यान्थर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनायो ।
उसका लागि जिमी नीशमले अविजित ५४, नवनीत धालिवालले ४६ र आजम खानले २६ रन बनाए ।

ओपनरद्वय क्रिस गेल र टम कूपर भने १/१ रनमै आउट भए । मोन्ट्रियलका लागि कलीम सानाले ३, कार्लोस ब्रार्थवेटले २ र शाकिव अल हसनले १ विकेट लिए ।

लागातार दोस्रो जित निकालेको मोन्ट्रियल अंक तालिकाको दोस्रो स्थानमा छ । लगातारर तेस्रो हार बेहोरेको प्यान्थर्स भने पुछारमा छ ।

गएराति नै हुने भनिएको ब्राम्टन वुल्भ्स र सरे जगुआर्सबीचको खेल वर्षाका कारण रद्द भयो । टस हारेर ब्याटिङको निम्तो पाएको वुल्भ्सले ७.२ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको अवस्थामा पानी परेको थियो ।

त्यो बेलासम्म जगुआर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले २ बल मात्र बलिङ गर्न पाएका थिए । उनले २ बलमा ३ रन दिएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।

सन्दीपले अघिल्लो खेलमा मोन्ट्रियलविरुद्ध ४ ओभरमा १७ रन दिएर २ विकेट लिएका थिए । अब उनीसम्मिलित जगुआर्सको तेस्रो खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया