एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अन्तिम खेलमा आज यूएई ‘ए’ सँग खेल्दै

इनेप्लिज २०८० साउन ३ गते २:२१ मा प्रकाशित

काठमाडौ, श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अन्तिम खेलमा आज यूएई ‘ए’ सँग खेल्दैछ ।

नेपाल र यूएईबीचको खेल कोलम्बोस्थित पी सारा ओभल मैदानमा बिहान १०: १५ देखि सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेका यी दुवै टिम जितका साथ सुखद अन्त्य गर्न चाहन्छन् ।

जारी प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ४ तथा दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटको लज्जास्पद हार बेहोर्‍यो । यस्तै, यूएई पाकिस्तानसँग १८४ रन तथा भारतसँग ८ विकेटले पराजित भयो ।

यूएईविरुद्ध नेपाल आफ्नो जित यात्रा कायमै राख्न चाहन्छ । पछिल्लोपटक यूएईविरुद्ध नेपालले लगातार जित निकालिरहेको छ । यसपटकको युवा टोलीविरुद्ध नेपाल सहज जितको खोजीमा हुनेछ ।

यद्यपि उसलाई हराउन लय गुमाएको नेपाललाई अप्ठ्यारो पनि हुनसक्छ । जारी प्रतियोगितामा ब्याटिङतर्फ यूएईले नेपालभन्दा राम्रो सुरुवात गरिरहेको छ । यूएईले भारतविरुद्ध सुरुवाती १० ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।

भारतविरुद्ध पावरप्ले (सुरुवाती १० ओभर) मा नेपालले भने ३७ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो ।

पाकिस्तानविरुद्ध नेपालले सुरुवाती १० ओभरमा ६ विकेट गुमाएर ४३ रन मात्र जोडेको थियो । यूएईले भने पाकिस्तानविरुद्ध पावरप्लेमा बिनाविकेट ५२ रन बनाएको थियो ।

पाँच खेलाडी परिवर्तनको सम्भावना

यूएईविरुद्ध नेपालले अघिल्लो खेलमा बेन्चमा बसेका खेलाडीलाई मौका दिने सम्भावना छ ।

आज नेपालले आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी, पवन सर्राफ र किशोर महतोलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, श्याम ढकाल र सूर्य तामाङलाई मौका दिने सम्भावना रहेको हो ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, अर्जुन साउद (विकेटपिकर), देव खनाल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, गुलशन झा, प्रतिश जिसी, श्याम ढकाल र सूर्य तामाङ ।

प्रतिक्रिया