युनिलिभरले राष्ट्रिय महिला फुटबललाई २५ लाख प्रायोजन गर्ने

इनेप्लिज २०८० साउन २ गते ११:१९ मा प्रकाशित

काठमाडौं, नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ ।

युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो ।

प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मङ्गलबार युनिलिभर नेपालका कार्यकारी निर्देशक आमलाल मुखर्जी र एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले हस्ताक्षर गरे ।

सम्झौता एक वर्षको लागि गरिएको हो । सम्झौता अनुसार युनिलिभरले एन्फामार्फ महिला फुटबल टोलीलाई आर्थिक सहयोग प्रदान गर्ने र एन्फाले युनिलिभरको बजार प्रवर्द्धनमा सहयोग गर्नेछ ।

दुई पक्षबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री लिम्बूले युनिलिभरले महिला फुटबलमा गरेको सहयोगको लागि उच्च सम्मान रहेको बताए ।

‘‘महिला खेलाडीले सीमित स्रोत साधनबीच देशको नाम उच्च बनाउन कडा मिहेनत गर्नुभएको छ । सरकारले खेलाडीलाई पर्याप्त सहयोग गर्न सकिरहेको अवस्था छैन ।

खेलकुदको विकासका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहयोगको आवश्यकता छ । युनिलिभर जस्तै निजी क्षेत्रको सहयोगले खेलकुद माथि जाने हो । खेलकुदको सुधार र विकासका लागि सरकारले खेलाडीको बीमा, भौतिक संरचना निर्माण र चुस्त व्यवस्थापन जस्ता कार्यमा विशेष ध्यान दिनेछ,’’ मन्त्री लिम्बूले भने ।

यस्तै राष्ट्रिय टोलीकी कप्तान एञ्जीला तुम्बापो सुब्बाले युनिलिभरको सहयोगले महिला फुटबल खेलाडीमा उत्साह थपेको बताए ।

उनले यस्तो सहयोगले महिला सशक्तीकरण र भविष्यमा फुटबल खेल्न चाहने नयाँ महिला खेलाडीलाई पनि प्रेरणा मिल्ने बताए ।।

एन्फाका अध्यक्ष नेम्बाङले युनिलिभरको सहयोग नेपाली महिला फुटबलका लागि ऐतिहासिक क्षण भएको बताए ।

उनले महिला विश्वकप अगाडि गरिएको सहयोगले महिला टोलीमा नयाँ जोस थपेको बताए । उनले भने , ‘‘ एन्फाले नेपाली महिला फुटबलले सकेसम्म सन् २०२७ को विश्वकप र नसके २०३१ को विश्वकप खेल्ने गरी योजना बनाएको छ । यस सहयोगले महिला टोलीले विश्वकप खेल्ने लक्ष्यमा सहयोग गर्नेछ ।’’

युनिलिभरका कार्यकारी निर्देशक मुखर्जीले नेपाली महिला फुटबल टोलीसँग जोडिन पाउनु खुसीको क्षण भएको बताए । उनले यस सहयोगले महिला टोलीको प्रदर्शनमा सुधार आउने विश्वास पनि गरे ।

नेपालले सन् १९८० मा पहिलो पटक महिला टोली तयार गरेको थियो । सन् १९८६ मा हङकङसँग पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको नेपाली टोली अहिले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेको छ ।

एसियाड तयारीकै लागि महिला टोलीले हालैमात्र बङ्गलादेशसँग दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेर स्वदेश फर्किएको छ ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।

प्रतिक्रिया