विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिस्टहरू एकताबद्ध हुनु पर्छ : प्रधानमन्त्री दाहाल

इनेप्लिज २०८० असार १७ गते ६:१९ मा प्रकाशित

भक्तपुर, प्रधानमन्त्री पुष्पकमल दाहालले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिस्ट एकीकरणका लागि एकताबद्ध हुन आव्हान गरेका छन् ।

३४औँ स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरूले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिस्ट एकताका लागि पहल गरेको बताए ।

प्रधानमन्त्री दाहालले भने , हामीले फेरि नेकपातिरै फर्कने भनेका छौँ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौँ ।’

देशका वामपन्थीहरूलाई एकताबद्ध गरेर आम श्रमजीवी जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उनले आफूहरूको सङ्कल्प रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले अहिले देशव्यापी स्वरूप लियो । देशको पहिलो शक्ति बनिसक्यो ।

यो शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तात्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गर्‍यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धितिर जान सकिन्छ र समाजवादतिर पनि देशलाई डोर्याउन सकिन्छ भनेको थिएँ ।

र, कम्युनिस्ट एकता भयो पनि । देशको सबैभन्दा ठुलो शक्तिलाई झन्डै दुईतिहाई मत प्राप्त पनि भयो ।

जनतामा ठूूलो उभार र उत्साह देखापर्यो । कम्युनिस्ट समर्थक र शुभेच्छुकमा ठुलो उत्साह र उभार देखापर्यो । प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरूमा एउटा आतङ्क जस्तो भयो ।

तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ । त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन ।

म यसमा कसैलाई दोषारोपण गर्दिनँ । हामी एक पटक असफल भएपनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ ।

किनकि विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, सङ्घर्ष विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ ।’

प्रतिक्रिया