यूएईलाई हराउँदै आयरल्याण्डसँग भिड्ने योजनामा नेपाल

इनेप्लिज २०८० असार १७ गते १:५९ मा प्रकाशित

काठमाडौ, जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको खेल दिउँसो १२ः४५ देखि हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

सुपर सिक्समा पुग्न वञ्चित भएपछि नेपाल र यूएईले प्लेअफ खेलिरहेका हुन् । समूह चरणमा नेपाल चौथो र यूएई पाँचौं स्थानमा रहेका थिए ।

समूह चरणमा नेपालले जिम्बाब्वे, वेस्ट इण्डिज र नेदरल्याण्ड्ससँग पराजित हुँदा अमेरिकालाई हराएको थियो । यूएईले भने समूह चरणमा एउटा पनि खेल जित्न सकेन ।

समूह चरणमा चारवटै खेल गुमाएको यूएई प्लेफमा नेपालविरुद्ध भने जीत निकाल्न चाहन्छ । प्रतियोगिताअघि अभ्यास खेलमा नेपाललाई ३ विकेटले हराएको यूएईले आज पनि सोही लय कायमै राख्ने रणनीति बनाएको छ ।

नेपाल प्लेफमा यूएईलाई हराउँदै सातौं स्थानका लागि प्रतिस्पर्धा गर्ने सोचमा छ । यदि यूएईलाई हराउन सके नेपालले सातौं स्थानको प्रतिस्पर्धामा टेस्ट टोली आयरल्याण्डको सामना गर्ने मौका पाउनेछ ।

आयरल्याण्ड प्लेअफमा अमेरिकालाई हराउँदै सातौं स्थानका लागि प्रतिस्पर्धा गर्न तयार भएको छ ।

आज पराजित भएको खण्डमा चाहिँ नेपालले नवौँ स्थानका लागि अमेरिकासँग खेल्नुपर्नेछ । त्यसकारण नेपाल आज जसरी पनि यूएईविरुद्ध जीत निकाल्दै आयरल्याण्डसँगको भेट पक्का गर्न चाहन्छ ।

यूएईविरुद्धको हेड टु हेड नतिजा हेर्दा नेपाल बलियो देखिन्छ । हालसम्म यूएईसँग नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ ।

जसमा नेपालले ८ मा जीत र ६ खेलमा हारको सामना गरेको छ । पछिल्लो पाँच खेलमा नेपालविरुद्ध यूएईले एक मात्र खेल जितेको छ ।

नेपालको टोली :  कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, अर्जुन साउद, प्रतिश जि.सी र किशोर महतो ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा,अली नासिर, कार्तिक मयप्पन र बासिल हामिद, इथान डी सोल्झा र अर्यांश शर्मा ।

प्रतिक्रिया