आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दै

इनेप्लिज २०८० असार ७ गते २:३६ मा प्रकाशित

काठमाडौं, आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज विहीबार वेष्ट इन्डिजसँग खेल्दैछ ।

खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । वेस्ट इन्डिज र नेपालले पहिलो पटक एक अर्कासँग खेल्न लागेका हुन् । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।

नेपालका कप्तान रोहित पौडेलले नेपालले वेस्ट इन्डिजसँग निर्धक्क भएर खेल्ने बताएका छन् । नेपालको पछिल्लो समयको लय हेर्दा वेस्ट इन्डिजलाई हराउन पनि सकिने खालको रहेको उनको भनाई छ ।

नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाईले बताएका छन् ।

समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो ।

लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान २/२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

त्यस्तै लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र एक खेल खेलेको नेदरल्याण्ड्स पुछारमा छ ।

प्रतिक्रिया