टर्निँग प्वाइन्ट टेक्सस

इनेप्लिज २०८० जेठ २७ गते ९:५१ मा प्रकाशित
  • डा. दामोदर पुडासैनी किशोर

मेरो झ्याल अघिल्तिर
मेपलको हाँगामा
भर्खरै केही जोडी स्काइलार्कहरूले
गरिरहे रियाज
त्यो रियाजमा
रसिया र युक्रेनको हाइब्रिड युद्धभित्र
तिमीले बुनेको आकाश बदल्ने गीत गुन्जिरहेछ

यार्डका घेरामा
काठ र इटाका भित्ताहरू भित्र
इँटारँगे छाना मुन्तिर
मौन वार्ता चलिरहेछ
वार्ताले खोतल्दैछ तिम्रो र मेरो जीवनयुध्दको आँधिबेहरी

मानव निर्मित केही तालहरूबाट
केही समयअघि ब्यूझेको थियो बूढो घाम
अहिले मुखमा गन्हाउने माछा च्यापेर
हिँडेको छ जर्ज डब्लु बुश टर्नपाइकमा टोल ट्याक्स तिर्न
किनारमा घाम तापेर
पोखरीमा लुकामारी खेल्ने कछुवाहरूले
सिकाउँदैछन् मान्छेहरूलाई
ग्लोवल इकोनोमी र नेट्फ्लिक्स शेयरका नयाँ शूत्र

खोस
बन्दुक खोस हातबाट
एउटा बन्दुकलाई बादल बनाइदिने हो भने
टेक्ससले चराको प्वाँखमात्र पहिरिँदैन
गाइरहन्छ चराकै आवाज़मा
हावाभन्दा छिटो हिँडने मान्छेहरूको नवीन गीत

मैले कतै रोपेको बिरूवा
यतै फक्रँदैगरेको भेटेको छु
फक्रिरहेको बिरूवा
भरपर्दो पुल , भरपर्दो भर्याँड॰ र भरपर्दो नदी पनि हुन सक्छ
बिरूवाको अनुहारमा सपनाका क्याभासहरू छन्
मैले यसपालि यतैबाट
रक्तसन्चारका टनेलहरूमा
टर्निड॰ प्वाइन्ट ट्यून गरिरहेछु

  • २०८० जेठ १० गते (२०२३ मे २४ ) बुधवार
    फ्रिस्को , टेक्सस, अमेरिका

प्रतिक्रिया