फिल्म ‘कडी’ को पोखरामा शुभमुहूर्त

इनेप्लिज २०८० जेठ २६ गते २:२० मा प्रकाशित

कास्की, दश वर्ष अघि नेपाली चलचित्र ‘नाइके’ निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ ।

नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मसको सहकार्यमा बन्न लागेको फिल्मको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभमुहूर्त गर्नुभयो ।

पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्रहरू सुटिङ हुने गरेको उल्लेख गर्नुहुँदै श्रेष्ठले भारतका नायक देवानन्दले समेत पोखरामा धेरै चलचित्रहरू सुटिङ गरेको जानकारी दिए ।

हरेराम हरेकृष्ण जस्ता चलचित्रहरू पोखरामा नै छायाङ्कन गरिएको उनले भने । नेपाली समाजका थुप्रै कडीलाई मोडेर आफूलाई अगाडि बढाउन र नेपाली चलचित्रको उन्नयनमा ‘कडी’ महत्त्वपूर्ण साबित हुनेमा विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा कलाकार माओत्से गुरुङले नेत्र गुरुङ म्युजिक भिडियो र सर्ट फिल्ममा चिरपरिचित नाम भएको उल्लेख गरे ।

उनले पोखराबाट बन्ने चलचित्रको शुभमुहूर्तमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । कडीले उठाउन खोजेको विषयले दर्शकको मन जित्नेमा आशावादी रहेको बताए ।

चलचित्र निर्देशक घनश्याम लामिछानेले ‘कडी’ नेपाली चलचित्र क्षेत्रका लागि नौलो बन्नेमा आफू विश्वस्त रहेको बताए । नेत्र गुरुङले कडी आफ्ना लागि ड्रिम प्रोजेक्ट भएको भनाइ व्यक्त गरे ।

म्युजिक भिडियोका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर आफूले कल्पना समेत नगरेको उनको भनाइ थियो ।

नाइकेपछि आफू म्युजिक भिडियो र सर्ट फिल्महरूमा व्यस्त रहेता पनि चलचित्र बनाउने योजना बनाएको उनले सुनाए ।

कडी समाजको कथा भएको उनको भनाइ छ । हर मान्छेले आफ्नो कथाको अनुभूति गर्न पाउने गरी चलचित्र निर्माण गर्ने उनको तयारी छ ।

पोखरा आसपास छायाङ्कन हुने चलचित्र सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । शुभमुहूर्त पछि पाँच दिनको वर्कसप पश्चात् ‘कडी’ छायाङ्कनमा जानेछ । कडी मार्फत दर्शकलाई आफूले नौलो स्वाद पस्कन चाहेको अभिव्यक्ति गुरुङको छ ।

कडीमार्फत गुरुङले टिकटकबाट चर्चामा आएका बद्रीप्रसाद तिवारीलाई मुख्यपात्रका रूपमा प्रस्तुत गर्दैछन् ।

नायकको भूमिकामा तिवारी रहनुहुनेछ । यस्तै, थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुभएको सोफी धरेल नायिकाको भूमिकामा छन् ।

तिवारी र धरेलको यो पहिलो चलचित्र हो । मल्टी क्यारेक्टरवाला स्टोरीमा बन्ने चलचित्रमा प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, सङ्गम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमिला तुलाचन, अर्जुन खड्का लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रमा दिपेश केसीको छायाङ्कन सविन गायकको पब्लिसिटी डिजाइनर रहनेछ ।

प्रतिक्रिया