कोलोराडोमा हुने एएनए सम्मेलनमा नयाँ कार्यकारी समितिको निर्वाचन हुने , निर्वाचन समिति गठन

इनेप्लिज २०८० जेठ २४ गते २३:२९ मा प्रकाशित

कोलोराडोको डेनभरमा आयोजना हुने एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए )को सम्मेलनमा नयाँ कार्यकारी समितिको निर्वाचन र नयाँ नेतृत्वको समेत चयन हुने भएको छ । हालका पदाधिकारीहरुको समय अवधि समाप्त भै नयाँ नेतृत्वले जिम्मेबार लिनेछ।

यसका लागि निर्वाचन समिति गठन भएको अध्यक्ष विजय राज भट्टराईले ईनेप्लिजलाई बताए । निर्वाचन समितिको प्रमुखमा मेरिल्याण्ड बाल्टिमोरका कुल मनि आचार्य रहेका छन् भने उनले अमेरिकामा विभिन्न राज्य लगायत स्थानीय स्तरमा समेत थुप्रै निर्वाचन सफलतापूर्वक सम्पन्न गरि सकेका छन् ।

यसैगरी समिति सदस्यमा टेक्ससबाट श्याम सेढाई तथा सदस्यमा कोलोराडोकी डा शिलु घिमिरे न्यौपाने रहेकी छिन । बिस्तृत जानकारी छिट्टै आउने भट्टराईले बताए।

लगभग बिगत १ दशक भन्दा अगाडी देखि एएनएको नेतृत्व चयन र कार्यकारी समिति सर्वसम्मतिबाट चयन हुदै आएको छ । पूर्व अध्यक्षहरु ,प्रमुख संरक्षक ,संरक्षकहरु ,आजीवन सदस्य लगायतहरुले राम्रो भूमिका निर्वाह गर्दै पूर्ण प्रजातान्त्रिक ,विवादरहित ,चुनावी प्रक्रिया तथा वातावरण बनाउदै सर्वसम्मत कार्यकारी समिति चयन बनाउन ठूलो मेहनत गर्दै आएकोमा यस पटक पनि यस्तै भूमिका निर्वाह हुनेछ भन्ने अपेक्षा गरिएको छ । निर्वाचन २०२३-२०२६ का लागि हुनेछ ।

कोलोराडोको डेनभरमा हुने १ र २ जुलाईमा हुने एएनए.सम्मेलनका संयोजक विनोद त्रिपाठी हुन् । स्मरण रहोस ,यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,नेपाली घर,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको छ ।

कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलन भएको थियो । सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया