कांँग्रेसमा सभापति देउवाविरुद्ध आक्रामक अभियान चल्दै, विशेष महाधिवेशनको लागि हस्ताक्षर थालिने

इनेप्लिज २०८० जेठ २४ गते ८:२७ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेस भित्रका संस्थापन इतर समूहले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वविरुद्ध हस्ताक्षर अभियान सुरु गर्ने तयारी गरेको तथ्य खुलेको छ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाउँदै लगेको र पार्टीका संगठनहरू भताभुङ्ग बनाएको भन्दै कांग्रेसलाई ‘व्यक्ति होइन विधि’बाट चल्ने पार्टी बनाउन उनीहरूले हस्ताक्षर अभियान सुरु गर्न लागेको स्रोतको भनाइ छ।

जेठ महिनाभर पार्टी रूपान्तरणको अभियान लिएर देशव्यापी भेटघाट र छलफल गर्ने त्यसैको सुझावका आधारमा असारमा हस्ताक्षर अभियान चलाउने उनीहरूको तयारी छ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले ‘कांग्रेस रूपान्तरण अभियान’ भन्दै ५ प्रदेशमा भेला र जिल्ला जिल्लामा समेत छलफल कार्यक्रम गरिसकेको छ।

रूपान्तरण अभियान नाम दिइए पनि उनीहरूले हरेक भेला र छलफलमा सभापति शेरबहादुर देउवाकै कारण पार्टीको भविष्य संकटमा परेको र अब सहेर नबस्ने ‘धम्की’ दिँदै आएका छन्।

अभियानमा नहिँडे पनि महामन्त्री गगन थापाले समेत ‘अब सहन्न’ भन्ने अभिव्यक्ति दिने गरेका छन्।

पार्टी रूपान्तरण अभियान चलाउने नेताहरूले ७७ जिल्लामै पुगेर नेताकार्यकर्ताको भावना बुझ्ने र एकपटक पार्टी नेतृत्वलाई सुध्रिनको लागि मौका दिनेसमेत सोचेको छ।

देशभरका कांग्रेस नेता कार्यकर्ताको भावना समेटिएको ‘सुझाव–पत्र’ पार्टी सभापतिलाई दिने र त्यसबाट पनि नसुध्रिएको अवस्थामा विशेष महाधिवेशनको तयारीस्वरूप हस्ताक्षर सुरु गर्ने उनीहरूको रणनीति छ।‘

हामी पार्टी रूपान्तरणका लागि लागेका हौं, कांग्रेसलाई रूपान्तरण गर्न जहाँसम्म पुग्नुपर्छ पुग्छौं’ अभियानका सदस्य जगदिश नरसिंह केसीले भने– नेतृत्व सुध्रिन चाहेन भने हस्ताक्षर मात्रै होइन, विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर पनि कांग्रेस जोगाउनैपर्छ।’

कांग्रेस रूपान्तरण अभियान भनेर शुरु गरिएको कार्यक्रमलाई कांग्रेस संस्थापनले भने ‘पार्टी र पार्टी सभापति विरोधी अभियान’ मात्रै भएको टिप्पणी गरेको छ।‘

यो चुनावमा पराजित भएका र जनतामा विस्वास पनि नभएका अनि कार्यकर्ताले समेत नपत्याएकाहरूको चुरीफुरी मात्रै हो’ कांग्रेस संस्थापनका एक नेताले भने– कांग्रेस र पार्टी सभापतिको विरोध गर्न अभियान चलाइएको हो। संगठन बनाउन र कांग्रेसको हितमा यो अभियान होइन।’

कांग्रेस भित्रको डा।शेखर कोइराला र गगन थापा समूहले देशव्यापी रूपमा ‘कांग्रेस रुपान्तरण अभियान’ चलाएको भनिए पनि शेखर र गगन दुवै कुनै पनि कार्यक्रमा देखिएका छैनन्।

अभियानले अहिलेसम्म मधेस, बागमती, गण्डकी र कर्णाली गरी ४ वटा प्रदेशमा भेला गरिसकेको छ। सुदूरपश्चिम, लुम्बिनी र कोशीको भेला यसै साता सक्नेगरी फिल्डमै रहेको पनि केसीले बताए।

कांग्रेस रूपान्तरण अभियानको मुख्य अभियन्ता नेपाली कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसी सहित पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेता गुरुराज घिमिरे, देवराज चालिसे, भूपेन्द्रजंग शाही, कल्याण गुरुङलगायत छन्।

उनीहरूले कांग्रेस रूपान्तरण अभियान शुरु नगरेको भए धेरै नेताकार्यकर्ताले पार्टी छाडिसक्नेसमेत दाबी गरे।‘

पार्टी छाड्ने अवस्थामा पुगेका धेरै साथीहरू हामीले अभियान चलाएपछी रोकिनुभयो’ केसीले भने–‘यसमा पार्टीले हामीलाई धन्यवाद दिनुपर्ने हो।’

कांग्रेसमा सभापति देउवाकै भूमिका गलत भएकाले पार्टी दिन प्रतिदिन अलोकप्रिय बन्दै गएको उनीहरूको निष्कर्ष छ।

बीपी कोइरालाले विचार नमिल्नेसँग सहकार्य गर्नु हुँदैन भनेको कुरा स्मरण गराउँदै केसीले भने–‘विचार नमिल्ने दलहरूसँगको सहकार्य कांग्रेसलाई घातक भयो।

२१औं शताब्दीमा पार्टी यसरी चल्दैन, कांग्रेस विधिले चल्ने पार्टी हो, विधि मिचेर व्यक्तिले आफूखुसी चलाउन खोज्दा भताभुङ्ग भयो।’

नेपाली कांग्रेस रूपान्तरण अभियान गुटरहित अभियान भएको र यसले कांग्रेसलाई पुरानो ढर्राबाट चल्दैन भन्ने निष्कर्षसहित रूपान्तरण गर्न खोजिएको केसीको भनाइ छ।‘

अब कांग्रेस पुरानो ढर्राले चल्दैन, त्यसका लागि हामीले गुटरहित अभियानथालेका हौं’ केसीले थपे–‘यो कांग्रेसलाई ऊर्जा दिने र कांग्रेसजनलाई उत्साहित बनाउने अभियान हो। यो अभियान सुरु नगरेको भए अहिलेसम्म कांग्रेसको संगठन थप कमजोर हुन्थ्यो।’

त्यसैगरी, कांग्रेस नेता गुरुराज घिमिरेले पनि पार्टीलाई बलियो बनाउने र लोकतान्त्रिक विधिमा चलाउने आफुहरुको लक्ष्य रहेको बताए। ‘

कांग्रेस रूपान्तरण अभियानले पार्टी भित्रको फोहोर बढारिन्छ’–उनले भने–,‘पार्टीमा विधिभन्दा व्यक्ति हावी हुँदा समस्या आएको हो,अब त्यो हुन दिँदैनौं । कांग्रेस व्यक्तिले होइन विधिले चल्छ।’

उनले भ्रातृसंगठनलाई १० औं वर्ष ब्यक्तिले मात्रै चलाउने,पदाधिकारी गठन गर्न नसक्ने, विभागहरू नबनाउने र आफ्नो पार्टी भद्रगोल बनाएर विचार नमिल्ने पार्टीहरूको कुरा सुन्ने र सहकार्य गर्ने प्रवृत्तिले जनताबाट कांग्रेसले विश्वास गुमाउँदै गएकोसमेत बताए।

नेपाली कांग्रेसलाई सशक्त, लोकप्रीय र गतिशील पार्टी बनाउन रूपान्तरण अभियान थालिएकोले पार्टीभित्रको अराजकता,पक्षपात, नातावाद, धनवाद र डनवादको अन्त्य हुने उनीहरूको दाबी छ।

प्रतिक्रिया