महिला तथा बालबालिकालाई विशेष प्राथमिकतामा राख्नुपर्छ–उपसभामुख दनुवार

मनोज दाहाल २०८० जेठ २० गते १९:३६ मा प्रकाशित

मोरङ,२० जेठ (रासस): कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले महिला तथा बालबालिकाका विषयलाई विशेष प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको छ ।

साझा सवालका लागि साझा मञ्च (कोकन) र संसदीय पत्रकार मञ्च प्रदेश समितिद्वारा संयुक्त रुपमा आज यहँ आयोजित ‘प्रदेशका महिला तथा बालबालिकासँग सम्बन्धित नीति तथा कानून विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नीति निर्माताको ध्यान विकास निर्माणमा मात्र पर्ने गरेको गुनासो व्यक्त्त गर्नु भयो ।

उपसभामुख दनुवारले महिला तथा बालबालिकाको विषय जोखिममा रहेको बताउँदै महिला तथा बालबालिकाका सवालमा बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयनमा जोड दिने प्रतिवद्धता व्यक्क्त गर्नु भयो ।

उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा महिला तथा बालबालिकाका विषयले प्राथमिकता पाउने बताउनुभयो ।

कार्यक्रममा सहभागी भएका प्रदेशसभा सदस्यहरुले प्रदेशमा महिला तथा बालबालिकाका विषयलाई प्राथमिकता राख्ने प्रतिबद्धता जनाएका छन् ।

कोकन अध्यक्ष मञ्जिता उपाध्याय र सल्लाहकार कोषराज न्यौपाने र संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्सालले कार्यपत्र पेश गर्दै प्रदेश सरकारले महिला तथा बालबालिकाको क्षेत्रमा ऐन कानून तथा रणनीतिहरु अन्य प्रदेश भन्दा छिटो ल्याएपनि कार्यान्वयन हुन नसकेको गुनासो व्यक्त्त गर्नु भयो ।

कार्यक्रममा सामाजिक क्षेत्रका विभिन्न व्यक्त्तिहरुले महिला तथा बालबालिकाका सवाललाई विशेष जोड दिन प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका थिए ।

अन्तरक्रियामा प्रदेश सभासभाका सदस्यहरु, महिला तथा बालबालिका एवं मानवअधिकारका क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया