टोरन्टोमा राष्ट्रिय पहिचानको निम्ति शान्ति र्याली

डा. गोबिन्दसिंह रावत, टोरन्टो २०८० जेठ १० गते २२:५२ मा प्रकाशित


२१ मई अर्थात २०८० जेठ ७ गते आईतबारका दिन उत्तर अमेरिकाको दुई प्रसिद्ध शहर न्युयोर्क (अमेरिका) र टोरन्टो (क्यानडा) मा नेपाली समुदायको सहभागितामा ¥यालीको आयोजना भएको थियो । दुई बेग्ला बेग्लै उदृेश्य राखेर एकै दिन आयोजना भएको र्यालीमा एकतिर राम्रो जनसमुदायको सहभागिता रहेको देखियो भने अर्कोतिर आयोजकले सोचेको भन्दा कम सहभागिता देखियो । न्युयोर्कमा गैरआवासीय नेपाली संघको न्युयोर्क समन्वय परिषदले संघीय गणतन्त्र नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो भने टोरन्टोमा कन्सर्न नेपालले २०१० देखि बुद्ध जयन्तिको उपलक्ष्यमा बुद्ध शान्तियात्राको आयोजना गर्दै आएकोमा यसपटक गैरआवासीय नेपाली संघ, क्यानडाको सहआयोजनामा शान्ति र्याली राखिएको थियो । न्युयोर्कमा एनआरएन, न्युयोर्कले सन् २०१६ देखि नेपाल डे परेडको आयोजना गर्दै आएको छ । न्युयोर्कको र्यालीमा नेपालको विविधसँस्कृति, भेषभुषा झल्काउने पहिरनका साथ उल्लेखनीय र उत्साहजनक उपस्थिति रहेको थियो । तर क्यानडामा अपेक्षानुरुपको उपस्थिति देखिएन । क्यानडाका कार्यवाहक राजदूत रोजिना चाम्राकार, बौद्ध धर्मगुरु डा. वान्ते सारानापाला र नेपालको अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्मा, एनआरएन क्यानडाका अध्यक्ष दिपक गौतम सहीत पाँचजनाले रिबन काटेर शुभारम्भ गरेको शान्ति ¥याली डण्दास स्क्वायरबाट शुरु भएर एक परिक्रमा गर्दै नेथन फिलिप्स स्क्वायरमा गएर टुङ्गिएको थियो । र्यालीमा हिमालयन भाइब्सको मंगल धुन र बाग्लुङ्ग समाजको पराम्परागत पञ्चे बाजाले बाटो भरी सबैको ध्यानाकर्षण गरेको थियो । पहिलोपटक पञ्चे बाजालाई र्यालीमा प्रयोग गरेर बटुवाहरुको ध्यानाकर्षक गरेको थियो ।

बुद्धको जन्मजयन्ति मनाउने परम्परा क्यानडामा पहिलोपटक २००६ मा पि.एन.सि.सि. (पशुपतिनाथ कल्चरल सेन्टर) को आयोजनामा संजिव रिजालको संयोजकत्वमा डण्डदास स्क्वायरबाट शान्ति र्यालीको आयोजना भएको थियो । एक–दुई पटकको आयोजनापछि रोकियो । त्यसपछि २०१० देखि कन्सर्न नेपालले निरन्तर शान्ति र्यालीको आयोजन गर्दै आएको छ । नेपालीहरुलाई नेपाली झण्डा बोकेर नेपाली पहिरनमा टोरन्टोको मुल सडकमा हिडाएर जातीय पहिचान देखाउन यस्ता र्यालीको महत्वपूर्ण भूमिका रहने गर्दछ । शुरुका दिनहरुमा र्यालीपछि साहित्य गोष्ठी आदि हुने गरेको सम्झना छ । अनि सहभागिता पनि बाक्लिदै जाने गरेको थियो । तर कोभिदको प्रकोपपछि तीन वर्षको अन्तरालमा आयोजित शान्ति र्यालीमा अपेक्षकृत उपस्थिति देखिएन ।

क्यानडामा बुद्ध जयन्तिको उपलक्ष्यमा प्रारम्भदेखि नै शान्ति ¥यालीको आयोजना गर्ने काममा अग्रसरता देखाउँदै आउनु भएका डा. तुलसी धरेलको अगुवाईमा नै ¥यालीको आयोजना हुँदै आएको छ । कन्सर्न नेपालको तर्फबाट डा. धरेलले नै ¥यालीको आयोजना गर्दै आएका छन् । यसपटक कन्सर्न नेपालसँगै गैरआवासीय नेपाली संघ, क्यानडा पनि गासिएकोले र्यालीमा उल्लेखनीय सहभागिताको अपेक्षा गरिएको थियो । तर सोचे अनुसारको सहभागिता भन्दा पनि अघिल्लो वर्षको भन्दा कम सहभागिता देखिएकोले यसको कारण खोज्नु जरुरी देखिन्छ ।

तीनजना केन्द्रिय अध्यक्ष रहेको गैरआवासीय नेपाली संघको क्यानडा समन्वयन परिषद समेत आयोजक रहेको मई २१ को शान्ति र्यालीमा संस्थाबाटै सहभागिता पातलिएको थियो भने सहभागिताका लागि अरु संस्थासँग कार्यगत एकता गरिएको जस्तो देखिएन । दूरदेशमा हामीले वर्षमा एकपटक नेपाल र नेपालीलाई चिन्हाउने मौका पाउने गर्छौ । यस्तो मौकालाई चुक्न र चुकाउन दिन हुँदैन । त्यसैले आयोजकले अन्य संस्थासँग कार्यगत एकता बनाएर राम्रो गृहकार्य गरेर आयोजना गर्नु पर्ने हुन्छ ।

हुन त शान्ति र्यालीको एक सातापछि (मई २७–२८) डा. शेष घलेको अधीनमा रहेको अर्को गैरआवासीय नेपाली संघको उत्तरअमेरिका क्षेत्रीय सम्मेलन टोरन्टोमा हुँदैछ । यसरी एकै महिनामा एक साताको अन्तरालमा दुई गैरआवासीय नेपाली संघको कार्यक्रममा एउटामा गए अर्को रिसाउने र अर्कोमा गए अर्को रिसाउने अडकलबाजिमा कतै नेपाली समुदायको सहभागितामा अनिकाल लागेको त हैन भन्नेहरु पनि छन् । अर्को कुरा, र्यालीको समय एक बजे राखी दिनाले पनि सप्तान्त बिदाको बेला दिउसो भएको कारण उपस्थितिमा ओरालो लागेको बारे पनि गाईगुँई सुनिएको थियो ।

आप्रवासमा बस्ने हामी सबैले नेपाल र नेपालीको पहिचानको कुरा आउँदा एक जुट हुनु पर्छ । एक जुट भएर हामीले हाम्रो परिचय दिन सक्नु पर्छ । राष्ट्रिय र जातीय परिचय दिने काममा हामी कदापी पछाडि पर्नु हुँदैन । अनि हाम्रो राष्ट्रिय र जातीय परिचय दिने माध्यम मध्यकै सशक्त माध्यम र्याली पनि हो । र्यालीका माध्यमबाट हामीले हाम्रो अनेकतामा एकता देखिने भेषभुषा र संस्कृतलाई देखाउन सक्छौं ।

परम्परागत बाद्यबादनको संगीत सुनाउन सक्छौं र र्याली निस्केको बाटोका बटुवाहरुलाई अडिएर हेर्न बाध्य गराउन सक्छौं । अझ विश्वमा शान्तिको ज्योति बाल्दै सद्भावना फैलाउने गौतम बुद्ध जन्मेको धर्तिका हामीहरु यस्ता शान्ति र्यालीमा आफ्ना सन्तानका साथ बुद्ध अंकित टोपी पहिरिएर उपस्थित भएर यसलाई व्यापक बनाउँदै जानु सक्नु पर्छ । भोलीका दिनमा हाम्रा सन्ततीले पनि यसलाई दशैंतिहार जस्तै एउटा चाँडका रुपमा मनाउँदै जानु परोस । त्यसैले यसको अगुवाई एउटा संस्थाले गरे पनि विशाल टोरोन्टोमा रहेका सबै संस्थाहरु मिलेर हस्टेमा हैंसे गर्दै जानु पर्छ । यस्ता परम्पराको निरन्तरताले नै हाम्रो पहिचान बनाउँदै जान्छ ।

-डा. गोबिन्दसिंह रावत

प्रतिक्रिया