कोशी प्रदेशमा १६ औं गणतन्त्र दिवस तीन दिन भव्यरुपमा मनाउने

इनेप्लिज २०८० जेठ १० गते १:०९ मा प्रकाशित

विराटनगर ९ जेठ । कोशी प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस तीन दिन भव्य रुपमा मनाउने भएके छ ।

प्रदेशका मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज वसेको बैठकले यही जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरिएको छ।

निर्णयमा जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको सरसफाई तथा सौन्दर्यकरण गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारहरुको सम्मान कार्यक्रम गरिने तय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश वस्नेतले जानकारी दिनुभयो ।

गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा बृक्षारोपण गर्ने , नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशसँगको सहकार्यमा टेलिभिजनमा परिसम्वाद कार्यक्रम पनि सञ्चालन गरिने सचिव बस्नेतले बताउनु भयो ।

प्रदेश सरकारले दिवसका अवसरमा तीन दिन दीपावली गर्न आग्रह गरेको छ ।

मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसका अवसरमा १३७ वटै स्थानीय तहमा कार्यक्रम गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरु मार्फत परिपत्र गर्नका आन्तरिक मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।

उहाँले लोकतन्त्र, गणतन्त्र र संविधान माथि नै अहिले चुनौति देखिएकोले दिवसको कार्यक्रम प्रभावशाली बनाउन पनि निर्देशन दिन भयो

बैठकमा प्रदेशका सवै मन्त्रालयका सचिवहरु, प्रंदेशसभाका सचिव, तीन वटै सुरक्षा अंगका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया