मदन बस्नेत, क्यानाडा। २५६७औँ बुद्ध जयन्तीका अवसरमा क्यानाडाको अति ब्यस्त शहर टोरोन्टोमा बृहत् शोभायात्रा निकालिएको छ।
नेपाली कम्युनिटी क्यानाडाको आयोजना र कन्सर्न नेपाल क्यानाडा एवं गैरआवासीय नेपाली संघ क्यानाडाको संयुक्त समन्वयमा मे २१ आईतवारका दिन टोरोन्टोमा बुद्ध शान्ती र्याली एवं नेपाल प्रवर्धन दिवश भब्यताकासाथ सम्पन्न भएको हो।
बुद्ध र सगरमाथाको तस्बिर अंकित टोपी, क्यानाडा नेपालको राष्ट्रिय झन्डा, सांस्कृतिक भेषभूषा र मौलिक नेपाली पन्चेबाजा सहितको शोभायात्राका सहभागीले टोरोन्टोको मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए।
शोभायात्राको शुभारम्भ क्यानेडियन मटिकल्चर काउन्सिलका प्रेसिडेन्ट, भिक्षु डा साराना पाला, क्यानाडाकालागी नेपाली दूतावासकी कार्यबाहक राजदुत रोजिना ताम्राकार, क्यानाडाकालागी अवैतानिक राजदुत कुञ्जर शर्मा लगायतले संयुक्त रुपमा रिवन काटेर गर्नु भएको थियो। र्याली सुरु हुनु अघि कार्यक्रमका संयोजक डा. तुल्सी धरेलले क्यानाडामा बुद्ध शान्ती र र्याली एवं नेपाल प्रवर्धन दिवशको अर्थ, महत्व र त्यसको सुरुवातको बारेमा प्रकाश पार्नु भएको थियो।
विगत लामो समयदेखि कन्सर्न नेपाल क्यानडाले संचालन गर्दै आइरहेको बुद्ध शान्ती र्याली एवं नेपाल प्रवर्धन दिवस यसपटक नेपाली कम्युनिटी क्यानाडाको आयोजना र गैरआवासीय नेपाली संघ क्यानडा र कन्सर्न नेपाली क्यानडाको संयुक्त समन्वयमा संचालन गरिएको हो।
नेपाललाई बुद्ध जन्मेको देश र सगरमाथाको देश भनेर चिनाउन सहभागीहरुलाई बुद्ध र सगरमाथाको चित्र अंकित टोपिहरु बितरण गरिएको थियो। र्याली टोरोन्टोको अति ब्यस्त चोक डण्डास स्क्वायरबाट सुरु भएर नाथन स्क्वायरको डबलीमा पुगेर समापन भएको थियो।
यसपटकको बुद्ध शान्ति तथा नेपाल प्रबर्द्धन र्यालीको मुख्य आकर्षक रहेको थियो – बाग्लुङ सेवा समाजको मौलिक पन्चेबाजा। पन्जेबाजाको तालमा सहभागीहरुले छमछमी नाचेका थिए भने स्थानीय क्यानेडियनहरु बडो चासो र उत्सुकताकासाथ र्यालीको अवलोकन गरेका थिए। बाजा मध्ये नरसिङ्गाको प्रस्तुतीले सबैलाई तानेको थियो।
कार्यक्रमलाई भब्यताकासाथ सम्पन्न गर्न नेपाली संस्कृति झल्किनेगरि कार्यक्रममा उपस्थित हुने सम्पूर्ण सहभागी तथा आगन्तुक अतिथिहरु प्रती कार्यक्रमका संयोजक डा. तुल्सी धरेलले हार्दिक आभार ब्यक्त गर्नु भएको थियो।
क्यानडामा रहेको सवै नेपाली समुदायको साझा कार्यक्रमको रुपमा मानिने बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन ग्रेटर टोरोन्टो एरियाका नेपाली समुदाय स्वतस्फूर्त रुपमा आएका थिए।
कार्यक्रममा नेपालबाट उच्च शिक्षा हाँसिल गर्न क्यानाडा आएका नवआगन्तुक विद्यार्थी भाईबहिनीहरुको पनि बाक्लो उपस्थिति थियो।
मदन बस्नेत, क्यानाडा।
प्रतिक्रिया