विराट राजा दरवार–बर्जु हाफ म्याराथन दौड

इनेप्लिज २०८० जेठ ४ गते २१:१५ मा प्रकाशित

विराटनगर,४ जेठ (रासस): विराटनगरको विराटराजाको दरबार भेडियारी देखि सुनसरीको बर्जु तालसम्मको हाफ म्याराथन दौडको तयारी अन्तिम चरणमा पुगेको छ ।

कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ यही जेठ ६ गते विहान ६ बजे आयोजनामा हुन लागेको उक्त्त दौडका सम्बन्धमा आज मन्त्रालयमा बसेको मुल समारोह समितिको बैठकमा तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

दौडमा तीन विभागिय टोली सहितका एक सय जनाको नाम दर्ता भएको मोरङ एथलेटिक्स संघ विराटनगरका अध्यक्ष दिनेश कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच किलोमिटरमा महिला मात्र र हाफ म्याराथन पृरुष महिला सहित दुवैमा एक सय जनाको सहभागिताका नाम दर्ता भएको छ।

विराटराजाको दरबार सङ्ग्रहालय भेडियारीबाट शुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टी चोक हुँदै केशलिया रोड, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालको उत्तर गेटबाट भित्र प्रवेश गर्ने रुट तय गरिएको मुल समोरह समितिका सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि मोरङ र सुनसरीमा ३१ स्थानमा ६५ जना ट्राफिक प्रहरी खटिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिनुभयो । यस्तै एउटा आईसीयु वेड सहित १० जना चिकित्सकको टोली समेत खटिने भएको छ ।

दुई वटा एम्वुलेन्समा चिकित्सक टोली र आवश्यक उपकरण ,औषधि सहितको मेडिकल टिम तयारी अवस्थामा राखिएको कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य निरीक्षक गजेन्द्र यादवले जानकारी दिनुभयो ।

हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ७५ हजार, तृतीय हुनेलाई रु ५० हजार तथा चौथो, पाँचौ र छैठौ हुनेलाई रु १५–१५ हजारको राशि प्रदान गरिने मन्त्रालयका सचिव डा. सन्जीव राईले बताउनुभयो । यस्तै महिला तर्फ पाँच किमी दुरीमा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा १५ जनाको स्वयंसेवक टोलीको व्यवस्थापन गरि तयारी अवस्थामा राखिएको स्वयंवेक संयोजक दीपेन्द्रकुमार मेहताले बताउनुभयो ।

प्रतिक्रिया