आजको कविता : “हम सब चोर हें”

रामप्रसाद खनाल २०८० वैशाख २६ गते २१:४० मा प्रकाशित

सबैभन्दा ठुलो भ्रष्ट र अपराधीले भन्यो  

फाइल खोल्छु म भ्रष्टाचारका अब 

गर्छु कारबाही सब भ्रष्टहरूलाई 

कुम हल्लाउँदै ठोक्यो भाषण उसले

जनता बेकुफ बनाउन माहिर उ 

झुट, बेइमानी, पाखण्डको शिखर उ 

सपनाका चमत्कारहरू बाँड्दै,

झुटका खेतीहरूमा अर्को बिउ रोप्छ उ         

सोझासाझा जनहरू फेरी पनि झुक्किन्छन् 

सुरु गर्छन् ताली मार्न 

भन्न थाल्छन् कारबाही हुनै पर्छ भ्रष्टहरूलाई 

उ झन् हौसियो यो देखेर र भन्यो 

यो त टेलर मात्रै हो

हेर्दै जानु अब पुरा फिल्म देखाउँछु म !

यत्तिकैमा बर्बराउन थाल्छ अर्को भ्रष्ट  

हाम्रा लाई मात्र छानी छानी किन ?

हिम्मत छ भने सबैलाई तान 

हाम्रालाई मात्र बाण नहान 

भ्रष्टाचारीको मुख हेर्दिन भन्ने उ 

त्यही भएर होला आजकल

भ्रष्टाचारीलाई लुक्न पठाउँछ गोरखपुर तिर 

अनि छेडखानी सुरु गर्छ काठमाडौँमा बसेर 

यत्तिकैमा वास्तविक पम्फादेवी हुन्छिन् प्रकट 

चोखै छु भनेर कहिले निकाल्छिन् विज्ञप्ति 

बर्बराउन थाल्छिन् सँसद भवन भित्रै पनि 

नारी विरोधी हुन मलाई भ्रष्ट भन्नेहरू भन्दै 

नारी लाई देख्न नसहने पुरुषहरू हुन भन्दै 

लठेब्रो भन्देखीलाई चुइँक्क बोल्दैन

बोलोस् पनि कसरी खाएर अघम्य भएको उ 

विगतमा यी र यस्ता धेरै पुरा फिल्महरू हेरेको म 

मलाई थाहा छ यो टेलरले केही झर्ने वाला छैन 

धेरै पटक पुरा फिल्महरू दोहोर्‍याएर हेरिसकेको म

यो टेलरबाट अहँ पटक्कै आशा बादी छैन म

फिल्म न हो यो एक छिनको 

कहिले हँसाउँछन्, कहिले रुवाउँछन् 

ड्याङ डुङ्ग, कथा जसो जसो माग्छ गर्छन् त्यसै    

हिरो बन्न खोज्छन् वास्तविक जीवनका भिलेनहरु

बुझिसकेको छु मैले राम्ररी 

त्यसैले ताली मार्दिन आजकल पहिला जस्तो 

यो फिल्मको हल्ला न हो, सस्तो सस्तो  

दुई घण्टा पछि फिल्म सकिन्छ मलाई थाहा छ 

हिरो भिलेन सब चुस्की मार्ने छन् सँगै बसेर

कसले बुझ्छ यिनको कला भित्रै पसेर ! 

फिल्म हेर्नै खोजेको हो भने सोध दर्शकहरूले, 

क्यान्टोन्मेन्ट र बुढी गण्डकीको फाइल कहाँ छ ?

४ हजारलाई ३५ हजार भनेर लुटेको धन कहाँ छ ?

दश वर्ष मात्र होइन त्यस पछि आज सम्म पनि,

जनता सँग लुटेको, देश लुटेको कालो धन कहाँ छ ?

यती, ओम्नी देखी काण्डै काण्डहरूमा लुटेको धन कहाँ छ ?

तर बोल्ने छैनन् उनी हरू, किनकि उनीहरूलाई थाहा छ: 

“हम सब चोर हें, कोही छोटे तो कोही बढे” !!

– रामप्रसाद खनाल          

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया