लोला छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ६१” सम्पन्न !

इनेप्लिज २०८० वैशाख २४ गते २२:५९ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० वैशाख १६ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-६१” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत लोला छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई लाेेेला छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::::: लोला छन्द :::::
~ गणः म स म भ गुरु गुरु
~ सङ्केत : २२२ ११२ २२२ २११ २२
~ २ र ७ अक्षरमा छोटो विश्राम

अभ्यासका क्रममा सङ्कलन भएका लोला छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
आए सांसद बन्दै, नेता वीर र जाती
यौटा जेल बनाई, हाल्छन् भ्रष्ट समाती ।
२.
प्रेमी पागल हुन्छन्, डिँड्छन् मात पिलाई
चिर्छन् चर्चर छाती, दिन्छन् को र सिलाई ?
✍️ राममशरण न्यौपाने
भक्तपुर
[२]
१.
माया मापन गाह्रो भाे भन्छन् कवितामा
लेख्दै अर्थ लगाए त्यो बग्ला सरितामा ।
२.
नेपाली छवि भन्दै चिन्नेछन् उपकारी
लाग्छन् रे सहयोगी आफ्नै झैँ नर नारी ।
✍️ इन्दिरा प्रयास
सानाेठिमी,भक्तपुर
[३]
१.
बोलेथे सब आधा ,भट्याए नव नारा
भन्छन् ती अझ खै के बिर्सेछन् अभिभारा ?
२.
मायामा सब तातो अङ्गालो लिन माग्छन्
आफ्नै स्वार्थ पुगेमा ती अन्तै तिर लाग्छन् ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[४]
१.
लाग्यो हेर अचम्मै कस्तो आज मलाई,
लेखे छन्द खुलाई आफ्नै आँत गलाई ।
२.
प्रेमी पागल बन्दै आयो सामु बसन्त,
जन्ती साथ मिलाई जाने भन्दछ जन्त ।
✍️ बिबस पारदर्शी
झापा
[५]
१.
पालो पाउन साह्रो,टालो पाउन कालो,
यस्तै हाल छ साथी मालामाल छ सालो।
२.
खोजी पस्दछ साथी,टोपी लाउन कालो,
चाला हेर अनौठो,हेर्दा लाग्छ बिरालो।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[६]
माया, सम्झ तिमीले, धेरै प्यार लगायौ,
आफै, प्रेम बुझायौ, सारा दु:ख भगायौ !
✍️ आर्त अकुलीन
कैलाली
[७]
मामाको छ नि पालो हेर्ने गोठ जहाँको ,
लागेरै पछि के भो मैले आज यहाँको ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[८]
आमा मावल जाने भन्दा लम्किन पाएँ,
भेट्टाएँ जब मामा पापा नै तब खाएँ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[९]
हेर्दा सुन्दर मान्छे, धेरै देख्छु खराबी
लाेभी धेर भएरै, कस्ताे बेथिति हाबी ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[१०]
लामो लाग्छ त्यही जो छोटाका तिर पस्छन्
बाठो लाग्छ उही नै जो लाटा बिच बस्छन् ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[११]
१.
तारा जून नि देख्यौँ , हामीले कति दामी ,
ऊर्जा पौरख छर्दै , बन्दै छौँ सब नामी।
२.
भाषाको पनि ऊर्जा , देखिन्छन् सब त्यहाँ ,
लेख्दै छौँ कविता लौ , हामीले तर यहाँ ।
✍️ बेदु न्यौपाने
काठमाडौ
[१२]
सारा सृष्टि जगत्को हेर्दा मात्र अचम्म,
नारा शक्ति भए त्यो उल्टिन्थ्यो नभसम्म।
✍️ म्यामराज राई
भोजपुर ।
[१३]
सुर्ता सम्मुख लड्दै आफ्नो भाग्य सपारौँ
काखी सन्ततिलाई च्याप्दै रक्ष झपारौँ ।
✍️ बाबुराम गौतम
गुल्मी
[१४]
कस्तो यो सब भारा, तिर्नै मुस्किल पर्ने,
सोझो तिर्न नसक्दा, काप्दै छन् पछि सर्ने।
✍️ अच्युत घिमिरे
भुटानबाट🇧🇹

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया