इनेप्लिज २०८० वैशाख १३ गते ७:५९ मा प्रकाशित

पोखरा, अन्तर्राष्ट्रिय दृष्टिविहीन टी २० क्रिकेट प्रतियोगितामा नेपालकी विनिता पुनले पहिलो पटक शतक प्रहार गरेकी छिन्।

पोखरामा सुरु भएको टी २० अन्तर्राष्ट्रिय सिरिजमा भारतविरुद्ध शतक प्रहार गर्दै उनी शतक प्रहार गर्ने विश्वकै पहिलो दृष्टिविहीन महिला खेलाडी बनेकी छन्।

उनको शतकीय इनिङ्समा नेपालले भारतमाथि ८ विकेटको जीत हासिल गरेको छ। १७४ रनका विजयी लक्ष्य पाएको नेपालले १७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

ओपनर विनिता १११ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहिन्। उनले राष्ट्रिय रेकर्डसमेत कायम गरेकी छन्।

यसअघि नेपालकी मानस्की चौधरीले सन् २०१९ मा पाकिस्तानविरुद्धको खेलमा ८२ रन बनाउँदै सर्वाधिक रन जोड्ने खेलाडी बनेकी थिइन्। विनिता बी ३ अन्तर्गतकी दृष्टिविहीन हुन्।

क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ। जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ (मध्यम दृष्टि) र बी ३ (न्यून दृष्टि) भएका खेलाडी हुन्छन्।

भारतका लागि बी १ दृष्टिविहीन वर्षा र गंगाभाले समान १–१ विकेट लिए। त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रनको योगफल तयार गरेको थियो।

नेपाल र भारतबीचको दोस्रो खेल बुधबार पोखरामा नै र अर्को सिरिज काठमाडौंमा हुनेछ।

प्रतिक्रिया