“ आजको आवाज” -“रबिको लागि हामी छातीमा गोली थाप्छौं”

इनेप्लिज २०८० वैशाख १० गते १६:५१ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ । चितवनका एक नागरिकले यसरी बोलेको सुन्दा आज मेरा आँखा रसाए।चितवनमा उर्लेको भवसागर देखेर आज जो कोही पनि हामीजस्ता जनताको आँखामा फेरी एउटा सुन्दर सपना नाचीरहेको छ।

हो जनताले देशमा परिवर्तन चाहेका छन्। बर्षौं देखि देशलाई चुसेर खोक्रो पार्ने जुकाहरुको पेट चिर्ने प्रण गरेका छन्। देशलाई फेरी समृद्ध भएको सपना देखेका छन् ता कि लाखौं देशका जनशक्ति गाँस, बास् र कपासको लागि खाडीमा पुगेर खाडीको प्रचण्ड तापमा सेकिएर बाकसमा बन्द भएर स्वदेश फर्कन नपरोस्।

देशका कर्णधार भविष्यका धरोहरहरु देशमा आफ्नो कुनै भविष्य नदेखेर दिन प्रतिदिन बिदेशिने क्रम रोकियोस्। साँच्चै भनुँ भने देशका अधिकांश दक्ष जनशक्ति देशको बिग्रंदै गएको आर्थिक र सामाजिक कारणले बिदेशिन बाध्य बनेका छन्। काम गर्छु भन्नेलाई सरकारले उसको योग्यता अनुसारको काम दिंदैन। गणतन्त्र आएर पनि जनताको आवाज दबाउन भर मग्दुर कोशिष गर्छ।

देशको कल कारखाना बन्द राखेर सोझा साझा जनतालाई खाडीमा होम्न बाध्य तुल्याएर रेमिट्यान्सबाट भूँडी भर्ने सपना त्यागीदेउ।

थुक्क लाचार सरकार! एउटा उदियमान शक्तिलाई दबाउन डरले थर थर काम्दै फेरी गठबन्धनमा लागेका छौ। जनताको ईच्छालाई दबाएर सपनालाई चकनाचूर बनाउने हर कोशिष गरिरहेछौ। कहिलेसम्म तिमीहरुको यो गुण्डा गर्दी चल्छ भन्ने सोचेका छौ?

तिमीहरुले अब देशलाई चुस्न बाहेक उँभो गती दिन सक्दै सक्दैनौ। यो देशको ईतिहाँसले देखाईसकेकोछ। तिमीहरुले आफ्नो कुर्सी बाहेक आजसम्म देशलाई कसरी सम्बद्धी तिर लैजान सकिन्छ भनेर कहिल्यै सोच्यौ? तिमीहरु साँच्चै मान्छे भएको भए त आज देशको यो नाज़ुक अबस्था भैसक्दा आत्म ग्लानी भएर डाडुमा पानी तताएर मरिसक्नु पर्थ्यो। लाज सरम पचेको हुत्तिहाराहरु।

जनताको चाहानाको अगाडि राज संस्था ढलेको इतिहास साक्षी छ। अब पनि तिमीहरु भित्र अलिकति पनि “ हरि” छ भने आत्म समिक्षा गर र जनताले चाहेको नेतृत्वलाई सहयोग गर नत्र छिट्टै जनताको अगाडि तिमीहरुले घुँडा टेक्नु पर्नेछ ।

याद राख समय चक्र एकनासले घुमिरहन्छ। यो कसैको बशमा हुँदैन। समय आज तिमीहरुको बशमा छ भन्दैमा जनआवाजलाई दबाउने र देश आत्मनिर्भर भएको सपना देख्ने जनताको सुन्दर सपनालाई तुहाईदिने कुचेष्टा नगर। यदी गर्यौ भने पशुपतिनाथको त्रिनेत्र खुल्नेछ र तिमीहरु एकै चिहानमा भष्म खरानी हुनेछौ।

“अति गर्नु अत्तिसार नगर्नु” भन्ने बुढापाकाको उखान छ नि! देशलाई मिल्ने जत्ति र सके जत्ति बेचेर आफ्नो र परिवारको भूँडी बलुनमा हावा भरिए जस्तै गरी भरीसक्यौ। त्यत्ति त ज्ञान होला नि बलुन धेरै फुल्यो भने के हुन्छ??

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क, यु एस ए

प्रतिक्रिया