छानविन समिति बैठक

इनेप्लिज २०७९ चैत १५ गते २१:४० मा प्रकाशित

विराटनगर, १५ चैत(रासस) कोशी प्रदेश नामकरण पछि तनाव ग्रस्त बनेको यो प्रदेशको स्थितिलाई सामान्य बनाउन गृह मन्त्रालयले छानबिन समितिले आज यहाँ राय,सल्लाह र सुझाव लिने काम गरेको छ ।

कोशी प्रदेश नामकरणको विरुद्धमा लागेका समूह, राजनीतिक दल, मानव अधिकारवादी, सञ्चारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी रहेको सो बैठकमा आन्दोलन पक्षधरले आन्दोलनको क्रममा घाइते भइ उपचारको क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई राज्यले शहीद घोषणा गर्नु पर्ने, प्रदेशको नाम खारेज हुनु पर्ने र पीडित परिवारलाई उचित सुविधा दिनु पर्ने माग राखेका छन् ।

गएको चैत ५ गते विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा लिम्बू घाइते भएको भनिएको छ भने प्रहरी सूचना अनुसार सो दिन घाइतेको नाममा उहाँको नाम रहेको दावी गर्दै आएको छ ।

प्रहरी अनुसार लिम्बू चैत ८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएको बताइरहेका छन् भने आन्दोलनकारीहरुले चैत ५ गते नै घाइते भइ उपचारका लागि प्रतिष्ठानमा भर्ना गराएको दावी गर्दै आएका छन् । घाइते लिम्बूको चैत ८ गते अस्पतालमै मृत्यु भएको थियो ।

सोही विषयमा हिजो भएको आन्दोलनमा प्रहरीले नियन्त्रण बाहिर गएको आन्दोलन नियन्त्रणमा लिन १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको थियो ।

बैठकमा आन्दोलनकारी समूहका भविराज लिम्बू,अर्जुन जङ्गली राई, ज्ञानबहादुर गुरुङले आन्दोलनमा उठेको मागमा अडिग रहि आफ्ना विचार राख्नु भएको थियो ।

नेकपा एमाले मोरङका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमले आन्दोलन शान्तिपूर्ण वातावरणमा हुनु पर्ने भन्दै कोशी नाम नजायज नभएको र यसले सम्पूर्ण प्रदेशवासीको सभ्यतालाई झल्काएको दावी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका कावा सभापति भक्त्ति माझी, नेकपा एमाले एकीकृत समाजवादीका कविराज घिमिरे, इन्सेकका मोरङका संयोजक सोमराज थापा, संवाद समूहका मोहम्मद कादिर लगायतले बोल्नु भएको थियो ।

गृहमन्त्रालय छानविन समितिका संयोजक रामबन्धु सुवेदीको समुपस्थितिमा भएको सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया