विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको रङ्शाला निर्माण गर्ने– मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ चैत ९ गते २२:०५ मा प्रकाशित

विराटनगर,९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगरको आसपास क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको रङशाला निर्माण गर्ने बताउनु भयो ।

विराटनगरको शहीद रङशालामा आज साँझदेखि शुरु भएको ‘विराट गोल्ड कप’ फुटवल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा खेलकूदको विकासका लागि प्रदेश सरकारले आगामी बर्षदेखि रङ्शाला निर्माण कार्य शुरु गर्ने जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले खेलाडीहरुले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गर्न सफल भएको सम्मान स्वरुप विराटनगर नजिक सम्पूर्ण सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्घोष व्यक्त्त गर्नु भयो ।

राज्यको कम लगानीका बावजुद नेपाललाई फुटवल तथा क्रिकेटको खेल मार्फत प्राप्त सफलताले विश्व एवं दक्षिण एशियामा चिनाउन सफल भएकोमा सम्पूर्ण नेपाली जनताको शिर ढाडो भएको छ भन्दै उहाँले खेलाडी राष्ट्रका सम्पदा भएकोले उनीहरुको संरक्षण गर्नुपर्नमा जोड दिनु भयो ।

रात्रिकालिन समयमा सञ्चालन हुने उक्त्त गोल्ड कपमा नेपालका ए डिभिजनका छ क्लव , भारतको एक र भुटानको एक क्लवले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालका विभागीय क्लबहरु एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लव केरला भारत र ड्रुक लयुल फुटबल क्लब भुटान रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उप विजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

आजको फुटवल प्रतियोगिता महेन्द्र पुलिस क्लव र विराटनगर सिटी क्लव बीच भइरहेको छ।

प्रतिक्रिया