सङ्घीयतामा जनताले विकासको अनुभूति गरेको :मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ चैत ९ गते १०:५८ मा प्रकाशित

विराटनगर, ९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताउनु भएको छ ।

नेपाल समाजशास्त्र सङ्घ काठमाडौ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज यहाँ आयोजित नेपालमा सङ्घीयता : अवसर र चुनौति विषयक अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले भन्नु भयो ‘सङ्घीयता स्थापना पछि प्रदेशमा १५० संरचना निर्माण गरि इतिहास कायम गरेको छ’ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापना पछि पाँच बर्षको अवधिमा बहुबर्षे आठ सय किलोमिटर सडक कालोपत्रे भएको आगामी दुई वर्ष भित्रथप तीन सय किलोमिटर कालोपत्रे हुने जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले नेपालको लागि सङ्घीयता आवश्यक रहेको छ भन्दै यसको अभ्यासलाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिनु भयो ।

उहाँले सङ्घीयतामा संविधानले प्रत्याभूति गरेको अधिकार प्रदेशलाई दिनु पर्नेमा जोड दिदै सरकार जनताप्रति उत्तरदायि भएको धारणा राख्नु भयो ।

उहाँले सङ्घीयताको उपलव्धि रुपमा रहेको शान्तिसुरक्षा सुदृढ र जनताले सुरक्षाको अनुभूति गरेको विचार राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले भन्नु भयो –‘केन्द्रले सङ्घीयता कार्यान्वयनमा उदार भएमा विकास , सुरक्षामा उल्लेखनीय र गुणात्मक सुधार हुने छ ।’

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जनताले रोजगारी, समृद्धिमा सङ्घीयताको अनुभूति गर्न सक्ने धारणा राख्नु भयो ।

समाजशास्त्रका उपाध्यक्ष विश्वकल्याण पराजुलीले नेपालमा सङ्घीयताः अवसर र चुनौति विषय कार्यपत्र प्रस्तुत गर्दै जनताको समावेशी समानुपातिक प्रतिनिधित्वले सङ्घीयता बलियो हुने विचार राख्नु भयो ।

प्रतिक्रिया