सर्बज्ञसँग साहित्यिक कुरा : क्यानाडाका साहित्यकार सुरेन उप्रेतीसँगको अन्तरवार्ता : शृंखला -४

इनेप्लिज २०७९ चैत ५ गते १५:२३ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सर्वज्ञ वाग्लेले साहित्यकार सुरेन उप्रेती सँग गरेको साहित्यिक चर्चा :

सर्वज्ञ १) आजकल तपाई अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?

सुरेन : अध्ययन र लेखन भनेका जीवनका अभिन्न अंग बनीसकेका छन । अलिकती समय पाउना साथ लेखनको प्रतिक्षामा रहेका बिषयहरू माथि कलम चलाउँछु । अहिले बालसाहित्यका केही पुस्तकहरू तयार हुने क्रममा छन् । पत्र पत्रिकालाई दिने लेख रचना र कथा कविताहरूको लेखनको निरन्तरता त हुनेनै भयो । पढ्ने पुस्तकहरूका बारेमा कुरा गर्दा भर्खरै मात्र मानब अधिकारबादी भुटानिज नेता टेकनाथ रिजालको “निर्वासन” भन्ने पुस्तक पढी सकेँ । निर्वासन पढ्दा धेरै पटक भावुक बनेँ । त्यँहाका नेपालीभाषीहरू प्रति भएका अमानविय र क्रूर यातना थाहा पाउँदा पटक पटक भक्कानिएँ । त्यहाँका निर्दोष वालवालिकाहरू, सुत्केरी महिलाहरू, बृद्धबृद्धा र निमुखा श्रमजिविहरूप्रति भुटान सरकार द्वारा गरेका षडयन्त्र र नरधम कार्यले मेरो हृदयलाई क्षतविक्षत् बनायो । पुस्तक पढेपछी भुटानका नेपालीभाषीहरूमाथि भएको अत्याचारका घटनाले केही दिन सम्म मलाई बैचयन गरायो । नेपालको तात्कालिन पंचायती सरकारले आफ्ना देशमा प्राण जोगाउन आएका मानिसलाई क्रूर शासक समक्ष सुम्पिएर कती ठूलो अपराध गरेछ भन्ने बोध भयो । आफु नेपाली भएकोले आत्म ग्लानी पनि भयो । सयौँ बर्ष सम्म बृटिशको गुलाम भएको देश भारतले आफु स्वतन्त्र भए पनि छिमेकी मुलुकहरूलाई र त्यहाँका जनताको स्वतन्त्रता हरणमा कसरी भूमिका खेल्दैछ भन्ने बोध भयो । अब अर्को पुस्तक डाक्टर भगवान कोइरालाको “हृदय”ले पर्खिरहेको छ ।

सर्वज्ञ २) तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?

सुरेन : साहित्य भनेको पाठक, श्रोता, या दर्शकलाई जीवनोपयोगी चेतना या सन्देश प्रदान गर्ने विधा हो । जसलाई जीवनका भोगाई ,अनुभूति र अभ्यासहरूबाट प्राप्त ज्ञानका आधारमा र कल्पना शक्तिको दूरदर्षितामा सिर्जना गरिन्छ । त्यो सिर्जित साहित्यले समाजलाई समयसापेक्षित ढंगले अगाडि बढ्न प्रेरित गर्ने परिकल्पना गरिएको हुन्छ । समाजमा मानविय मुल्य र मान्यतालाई स्थापित गराउँन र विवेक अनि सचेतनालाई मेरूदण्डका रूपमा स्थापित हुन साहित्यले भूमिका खेल्दछ ।
ज्ञान र विज्ञानको मिश्रणले सरल र सहज बन्नु पर्दछ जीवन । फलेको बृक्षले जस्तै सबैलाई उपयोगी बन्न सक्नु पर्दछ जीवन । जीवनलाई हेर्ने व्यक्ति अनुसारकै फरक फरक दृष्ट्रिकोणहरू हुन्छन् । त्यही दृष्ट्रिकोण नै जीवन दर्शन हो । साहित्यले सामाजीक बिसंगतीलाई प्रहार गरेर सास्वत तर्फ डोर्याउन सक्नु पर्दछ ।

सर्वज्ञ ३) नेपाली साहित्यको भविष्य कस्तो देख्नु हुन्छ ?

सुरेन : साहित्य भनेको भाषाको मेरूदण्ड हो । भाषालाई उठाएर राख्ने ,जोगाएर राख्ने, भाषाको विकाश र विस्तार गर्ने भनेको साहित्य नै हो । आज संसारभरीका धेरै भाषाहरू आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन् । कती भाषाहरू लोप पनि भएर गइ सके । भाषा भनेको मात्र भावना विनिमय गर्ने साधन हैन । भाषाभित्र त्यो भाषा वोल्नेहरूका कला संस्कृति रीतिरिवाज परंपरा सम्पदा र पहिचान लुकेको हुन्छ । भाषा लोप भयो भने ती सबै लोप भएर जानेछन् । ती भाषीहरूको अस्तित्व र पहिचान लोप भएर जाने छन् । र ती सबै जोगाउने काम भनेको त्यो भाषाको साहित्यको हो । नेपाली भाषा जोगाउने भनेको नेपाली साहित्यले हो ।

सन्सारमा बढ्दै गएको अंग्रेजी भाषाका प्रभावले हाम्रो नेपालीभाषालाई पनि अतिक्रमण शुरू गरिसकेको छ । आजका हाम्रा यूवापूस्ताहरू नेपाली भन्दा अंग्रेजी भाषा बढी पढ्न लेख्न र वोल्न रूचाउँछन् । नेपालमा बोर्डिङ स्कुलमा पढ्नु पर्छ भन्ने भावनाको ऐँजेरूले नेपाली मस्तिष्कलाई गाँजी सकेकोछ । जहाँ नेपाली भाषाको एउटामात्र बिषयको पढाई हुन्छ र अरू सबै बिषयहरू अंग्रेजी भाषामा पढाइन्छ । त्यस्तै गरी कलेज स्तरका नेपाली बाहेकका सबै बिषयहरूमा अंग्रेजी माध्यमबाट प्रश्नपत्र तयार गरीन्छ । नेपालका सरकारी कार्यालयहरूको साइनबोर्ड देखि कागजातहरू अंग्रेजीमा प्रस्तुत गर्न थालिएको छ । यी सबै कारणहरूले गर्दा अबआउने पिंडिले नेपाली भाषालाई नै कसरी प्रयोग गर्छन् भन्ने चिन्ता शुरू भएको छ । नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाउन अहिले देखिनै पहल शुरू नगर्ने हो भने नेपाली भाषा र साहित्यको भविष्यमा ग्रहणलाग्ने देखिन्छ । नेपाल सरकार र सम्बन्धित निकायले समयमै सचेत भएर पहल गर्नु आवश्यक छ ।

सर्वज्ञ ४) अनेसास जस्तो साहित्यिक संस्थालाई कसरि हेर्नु हुन्छ ?

सुरेन : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संस्थाको स्थापना हुँदा जन्मभूमि भन्दा बाहिर बशोवास गर्न थालेका नेपालीहरूलाई आफ्नो भाषा र साहित्यलाई अटुटरूपले बढाउँदै लैजाने सोचबाट भएको हो । अन्यभाषाभाषीहरूसँग सहकार्य गर्नु पर्ने हुन्छ । आफ्नो परिचय र पहिचानलाई स्थापित गर्न पनि भाषा र साहित्यलाई जोगाउनु पर्ने हुन्छ । छरीएर रहेका नेपाली भाषीहरूलाई संगठित गर्दै नेपाली साहित्यको विकाशमा योगदान गर्न स्थापना भएको संस्था हो । यसले नेपालीहरू रहेका धेरै देशहरू र शहरहरूलाई समेटेर नेपाली साहित्यका क्षेत्रमा योगदान पुर्याउँदै आएकोछ ।साहित्यमा लाग्न नयाँ सर्जकहरूलाई प्रेरणा दिँदै आएको छ । स्थापित श्रष्टा र द्रष्ट्राहरूलाई सम्मान गर्दै विश्वसामू पहिचान पर्याउन पहल गर्दै आएको छ । अनेसासलाई अझ पारदर्शि बनाउँदै बिशुद्ध साहित्यमा समर्पित हुनेहरूले नेतृत्व प्रदान गर्ने हो भने अझ धेरै उपलब्धीहरू हुन सक्ने थिए । नेतृत्वमा सेन्टिकेट कायम गरेर त्यही सेन्टीकेटको चाहना अनुरूपमात्र नेतृत्व हुन थाल्यो भने सर्जक र साहित्यप्रेमीमा नैराश्यता ल्याउनेछ । नाम अनुरूपकै अन्तर्राष्टिय नेपाली साहित्य समाजले कामहरू गर्ने हो भने ठूलाठूला कार्यहरू गर्न सक्नेछ । नेपाली साहित्यलाई अनुवाद गरेर बिश्वव्यापी गराउन सकिन्छ । अन्यभाषाभाषीका साहित्यकारहरू संगको सहकार्यमा नेपाली साहित्यलाई अन्यभाषामा पुर्याउन सकिन्छ ।

सर्वज्ञ ५) शुरूका दिनमा साहित्यमा लाग्न कसरि प्रेरणा आयो ?

सुरेन : नेपाली साहित्यमा कविता लेख्दै हिँडेका कवि हरिभक्त संग्रौलाको सामिप्यताले साहित्य प्रति आकर्षित गर्यो । नेपालको राजनैतिक, सामाजिक, र भौगोलिक परिस्थितिले साहित्यमा अझ निरन्तरता दिन प्रेरणा दियो । स्कुल र कलेजहरूमा हुने साहित्यिक कार्यक्रमहरूले उर्जा भर्दै लगे । साहित्यकारहरू र सर्जकहरूसँगको निरन्तर भेटघाटले अझ प्रोत्साहित गर्दै साहित्यमा पौडन थालेँ ।

सर्वज्ञ ६) तपाईलाई साहित्यमा राम्रो गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?

सुरेन : कुनै कार्यमा राम्रो गर्ने भनेकै त्यसमा कती समर्पित भएर काम गर्न सकिन्छ भन्ने हो । साहित्यमा पनि राम्रो गर्नलाई साहित्यमै ध्यान केन्द्रित गर्न सक्नु पर्यो । समयलाई आफुअनुकुल बनाएर निरन्तर अध्ययन र लेखनमा समय लगाउन सक्नु पर्यो । पिठो बिक्रिभैरहेका ठाउँमा चामल बेच्न अवशर मिल्नु पर्यो ।

सर्वज्ञ ७) अहिले तपाईॅले सोचे जस्तो लेख्न र अध्ययन गर्न सक्नु भएको छ ?

सुरेन : मानिस एउटा अशन्तुष्ट प्राणी हो । अशन्तुष्ट भएकै कारणले सबै आविष्कार अन्वेषण र सिर्जनाहरू भएका हुन् । आफुलाई मनमा लागेका मष्तिष्कमा जम्मा भएका सोचहरूलाई समयका पावन्दीले संकलन गर्न पाएको छैन । पुर्णकालिन लेखनका लागि समयले अनुमति दिइ सकेको छैन । अनुसन्धान र अध्ययनकालागि परिस्थिति प्रतिकुल अवस्थामै रहेको छ । सोचे जस्तो लेख्न अनुसन्धान गर्न पाएको छैन । अनुकूल परिस्थितिको प्रतिक्षामा छु ।

सर्वज्ञ ८) तपाईले अहिले सम्म कतिवटा पुस्तक लेख्नु भएको छ ? र अहिले के लेख्दै हुनु हुन्छ ?

सुरेन : अहिले सम्म मेरा एक दर्जन कृतिहरू बजारमा आइ सकेका छन् । पहिलो कृति आजका स्वरहरू कविता संग्रह २०५३ सालमा प्रकाशित भएको थियो । त्यस पछी बालकथा संग्रहहरू अजम्वरी माया, आकाशे परी, पछुतो अनि वाल गीत सँग्रह झिलिमिली ताराको प्रकाशन भयो । कथा संग्रह अनन्त यात्रा २०६९सालमा, बधशालाको डिस्को धुन निबन्ध संग्रह २०७४ सालमा, सगरमाथाकी छोरी बालकथा संग्रह २०७५सालमा, प्रेयशी रोवर्ट डायस्पोरिक कथा संग्रह २०७७ सालमा, एकन्तबास बालकथा संग्रह २०७८सालमा, देशहराएको मान्छे बालकथा संग्रह र नेपालका शान परिचय २०७९सालमा प्रकाशित भएका छन् । अहिले एउटा उपन्यास लेख्दै छु । आफ्नो लेखनमा मात्र सिमित नरही पुस्तकहरू सम्पादन गर्ने काममा पनि लागेको छु । भानु माशिक, साहित्य सन्ध्या, प्रतिध्वनी भाग एक र दुई ,डिस्टेण्ट रेज उत्तर अमेरिकाका छानिएका कथाहरू (अंग्रेजी ), अन्तर्देशिय कथाहरू कथा संग्रह ,सम्झनामा कृष्णप्रसाद श्रेष्ठ संस्मरण, प्रवासमा नेपाली शिक्षा भाग एक र दुई ,।एनआरएनको प्रथम विश्व नेपाली साहित्य सम्मेलनको स्मारिका, एनआरएन क्यानडाको स्मारिका प्रकाशित भएका छन् ।त्यस्तै गरी डायस्पोरामा नेपाली संस्कृति र सम्पदा र मदनमणि दीक्षित ग्रन्थ प्रकाशोन्मुख छन् ।

सर्वज्ञ ९) कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?

सुरेन : मानिसका जीवनका भोगाइहरु, संघर्ष, परिवर्तन सँग सम्बन्धित यथार्थको धरातलमा उभिएर लेखेका कृतिहरू पढ्न मन पर्छ । आविष्कारक र अन्वेषणमा जीवन सुम्पनेहरूका जीवनीहरू पढ्न मन पर्छ । कुनै जात, लिंग, क्षेत्र, धर्म बादहरू रहित साहित्य, जसले पाठकको मनमा सकारात्मक सोच जन्माउन सक्छ । अन्योलमा हिँडेको बाटो भुलेको बटुवालाई बाटो देखाउन सक्छ । जीवनदेखि निराश मएको पाठकलाई वाच्ने जीजीविषा दिन सक्छ । बिना आडम्वर साहित्यमा समर्पित व्यक्तिहरूका पुस्तकहरूले लेखनमा प्रेरित गर्दछन् । त्यस्तै प्रकारका साहित्यिक पुस्तकहरू जीवनी, यात्रा बृतान्त, रचनाआदि मलाई मन पर्ने पुस्तकहरू हुन । भर्खरै मानब अधिकारबादी भुटानिज नेता टेकनाथ रिजालको निर्वासन पढेँ । भुटानमा रहेका नेपालीभाषीहरू प्रति भएको निर्मम् अत्याचारको यथार्थ प्रस्तुत गर्नु भएको छ । अहिले भर्खर डाक्टर भगवान कोइरालाको हृदय पढ्न शुरू गरेको छु । त्यस पछी सन्दूक रूईतको जीवनी पढ्ने शोच रहेको छ ।

सर्वज्ञ १०) तपाईको मन पर्ने साहित्यकार को को हुनु हुन्छ ? र किन ?

सुरेन : मलाई साहित्यकार भन्दा पनि साहित्य मन पर्दछ । पुरानो पुस्ताका साहित्यकारहरूमा भानुभक्त आचार्य, मोतिराम, लेखनाथ, देवकोटा, भवानी भिक्षु ,गुरूप्रसाद मैनाली, बालकृष्ण सम, हृदयचन्द्रसिँ प्रधान, सिद्दिचरण श्रेष्ठ, हुँदै शङकर लामिछाने, भूपि, पारिजात, बिशेश्वरप्रसाद कोइराला, रमेश विकल, लिलबहादुर क्षेत्री, इन्द्रबहादु राई, मदनमणि दीक्षित, मोदनाथ प्रश्रित, कृष्ण धरावासी, जगदिस घिमिरे ,नरेन्द्रराज प्रसाई आदिका साहित्य आदि थुप्रै साहित्यकारहरूको साहित्य अत्यन्तै मन पर्छ । प्रत्येक साहित्यकारहरूको साहित्यमा बेग्लाबेग्लै प्रकारका श्वाद भएको छुट्टै अनुभूति हुन्छ ।

सर्वज्ञ ११) अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ?

सुरेन : साहित्यका बिबिध बिधाहरूमा गीत गजलहरू पनि पर्दछन् । मैले नेपाली भाषामा जन्म दिनमा शुभकामना दिने गीत लेखेको छु । जसलाई नारायण ओलीले संगीत भर्नु भएको छ भने नारायण ओली र बानिका प्रधानले स्वर दिनु भएको छ । यो गीत यूट्वमा आएको छ । त्यस्तै खासगरी नेपालको तराई भाग र शहरी क्षेत्रहरूमा दाइजो माग्ने र दिने महामारी फैलिएको छ । दाइजो दिन नसकेर थुप्रै बाआमाहरूले आफ्ना छोरीहरूको विवाह गरिदिन सकेका छैनन् । यो दाइजो कुप्रथा हो । यसलाई रोक्नु पर्छ भन्ने चतनामुलक मेरो गीतलाई राजकुमार बगरले संगीत भर्नु भएको छ । यसमा निशा देशारले स्वर दिनु भएको छ । जाजर्कोटमा भएको जातिय बिभेदले गरेको नरसंहारको बिरूद्धमा लेखिएका मेरा गीतलाई खड्ग न्यौपाने र हरि उदासीले गाउनु भएको छ ।

हामी सबैको उधेश्य भनेको समाजलाई शिक्षित सचेत बनाउँदै अगाडि बढाउनु हो । त्यसमा पनि साहित्यकर्मीहरूले शारथीको भूमिका निभाउनु पर्दछ ।

अन्तर्वार्ताका लागि हार्दिक धन्यवाद सर्बज्ञ जी ।

प्रतिक्रिया