पुरानो नेपाल र नयाँ नेपाल !

रामप्रसाद खनाल २०७९ चैत ३ गते २१:०८ मा प्रकाशित

पहिला पहिला हुँदा पुरानो नेपाल,

चिनिन्थ्यो सगरमाथाको देश भनेर

शान्तिका अग्रदूत बुद्धको जन्मभूमि भनेर

एक मात्र हिन्दु अधिराज्य र शान्ति क्षेत्र भनेर

अहिलेको नयाँ नेपाल, अग्रगामी नयाँ नेपाल

सङ्घीयता सहितको लोकतान्त्रिक, गणतान्त्रिक

कुन्नि के के तान्त्रिक नेपाल बनाएका छन् !

पहिलाको त्यस्तो नेपाल अहिलेको यस्तो नेपाल,

चिनिन्छ रुखमा चढेर क्रिकेट हेर्ने नेपाल भनेर

मार्क्स, लेनिन, माओका चेलाहरूको नेपाल भनेर

शासन सत्ता चल्छ उनीहरूकै अनुयायी बनेर

मार्ने, मराउने, टाउकाको मूल्य तोक्ने, तोकाउने

पालै पालो यता र उता गर्दै भारी बोक्ने, बोकाउने

सत्र हजारको चिहानमा दिउँसै आत्माहरू रुन्छन्

चिच्याउँछन्, न्याय देऊ भन्छन्, रुवाबासी चल्छन्

जे सुकै होस, जस्तो सुकै होस

उनीहरू मै मत्ता हात्ती बनेर शासन गर्छन्

यती बिघ्न हुँदा पनि जनता चुप्प लाग्दै उत्तानो पर्छन् !

  • रामप्रसाद खनाल, March 17, 2023

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया