“ज्यापु समाज यल” द्वारा क्यानेडियन नेवाः गुठि लगायतका पदाधिकारीहरुको स्वागत कार्यक्रम

इनेप्लिज २०७९ फागुन ३० गते १०:२४ मा प्रकाशित

ललितपुर, “ज्यापु समाज यल” द्वारा नेपाल भ्रमणमा रहेका क्यानेडियन नेवाः गुठि तथा हलिं नेवाः दबू लगायतका पदाधिकारीहरुको लागि ज्यापु प्रज्ञा भबनमा कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । समाजका बरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले पाहुनाहरुलाई समाजको कलात्मक खादा ओढाई स्वागत गर्नु भएको सो कार्यक्रममा ललितपुर क्षेत्रका सांसद माननिय प्रेम महर्जनले बिदेशमा बसेर पनि आफनो संस्कृति, कला, भाषा, परम्परालाई मायागरि सोको प्रचार प्रसार एवम संरक्षण कार्य गरि आएकोमा हार्दिक प्रशंसा गर्नु भयो । सोहि संरक्षण कार्यमा ज्यापु समाजको बिभिन्न कार्यक्रमको सराहना गर्नु हुदै सबैको सहयोगबाट आफ्नो संस्कृति, कला संरक्षण गर्नु आजको आबश्यकता हो भन्नुभयो।

समाजका बरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले मौलिक नेवा संस्कृतिको जगेर्ना गर्न ज्यापु समाजले संग्रहालय, जात्रा ब्यबस्थापन, बन्द भैरहेका पुराना जात्राहरुको पुन शुरुवात, भाषा संरक्षण, सामुहिक नेवाः संस्कार कार्य लगायतका क्षेत्रहरुमा कार्य गर्दै आइरहेको बताउनु भयो । ज्यापु समाजको सक्षिप्त परिचय दिनु हुदै समाजका सचिब शरिता महर्जनले नेवाः संस्कृतिको संरक्षणकोलागि युवा संलग्नता, युवा सशक्तिकरण तालिम, परम्परागत नेवाः नृत्य तथा संगीत प्रशिक्षण, छात्रबृति, बृदाश्रम संचालनको तयारी गर्दै आएको बताउनु भयो । साथै उहाँले नगरको भित्री क्षेत्रमा नेवाः समुदायको संख्या घट्दै गएकोमा चिन्ता पनि ब्यक्त गर्नु भयो।

सो कार्यक्रममा हलिं नेवाः दबूका उपाध्यक्ष तथा बेल्जियमबाट आउनु भएका रजनि प्रधानले नेवाः संस्कृतिको संरक्षण तथा प्रचार कार्यमा बेला बेलामा आफूले सक्दो गर्दै आएको तर काम गर्ने बेलामा आबश्यक जन शक्तिको अभाब महसुस भएको बताउनु भयो। महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन नेवाः समुदायले प्रयोग गर्ने गरेको परालको जुत्ताको स्वास्थ्यकर रहेको चेतना जगाउन्दै ती जुत्ताहरु नेपाल बाट आयात गरि बेल्जियममा बिक्रि गरेको कुरा पनि उहाँले स्मरण गर्नु भयो । डेनमार्क आउनु भएका श्रीया महर्जनले सानै समुह बाट भएतापनि कोपेन्हेगनमा नेवाः संस्कृति सम्बन्धि बिभिन्न कार्यक्रम हरु गर्दै आएको जानकारी दिनु भयो भने तथा जर्मनी बाट आउनु भएका अस्मिता ताम्राकारले पनि महिला समुहको माध्यमबाट आफू बसोबास गर्दै आएको शहरमा नेवाः सस्कृति तथा परम्पराका बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।

सो स्वागत कार्यक्रममा बोल्नु हुदै क्यानेडियन नेवाः गुठिका उपाध्यक्ष उत्तम माकःजुले नेवाः संस्कृतिलाई भबिश्यमा पनि जीबन्त राख्ने हो भने हाम्रो संस्कृतिको परम्परागत ज्ञान तथा शीप युवापुस्तामा पुस्तान्तरण गर्नु अत्याबश्यक रहेको र सोहि अनुरुप गुथिले पनि क्यानडामा प्रयास गर्दै आएको बताउनु भयो।साथै हाम्रो मौलिक सस्कृतिको जगेर्ना र प्रचार प्रसार गर्न नेवा समुदायको साथै आफु बस्दै आएको बिदेशी मुलुकको मूलधारमा पनि संलग्न हुनुपर्ने आबश्यकता दर्शाउनु भयो। क्यानेडियन नेवाः गुठिका महा सचिब बिमल मान श्रेष्ठले गुठिको परिचय र कार्यक्रमबारे बोल्नु हुदै म्हपुजा, यःमरि पुन्हि, सम्ये बजि, कू्छि भ्वय तथा समसामयिक जात्रा मनाउनुका साथै स्थानिय बिस्वबिद्यालयसंग मिलि भाषा तथा अनुसन्धानकार्य पनि गर्दै आएको बताउनु भयो । साथै उहाँले गुठि र ज्यापु समाजको सहकार्यमा सस्कृति प्रबर्द्दन सम्बन्धि कार्यक्रम गर्न सकिने बताउनु भयो ।

सो कार्यक्रममा ज्यापु समाजका पदाधिकारी, बिभिन्न उपसमितिका संयोजकहरुले पनि आआफ्नो बिचार ब्यक्त गर्नु भएको थियो भने हलिं नेवाः दबूका सल्लाहकार मदन मान श्रेष्ठ तथा टोरोन्टो बिस्वबिद्यालयबाट नेवाः बुद्ध धर्ममा पिएच. डी. गरि रहनु भएका क्यानेडियन नागरिक ईयन टर्नरको पनि उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा अतिथिहरुलाई ज्यापु समाजद्वारा संचालित संग्रहालय अबलोकन गराएका थिए भने त्यसपछि नेवाः परम्परा अनुसारको “सम्ये बजि” खुवाइएको थियो ।

प्रतिक्रिया