शिकागो राजमार्गमा गोली चल्दा बच्चासहित तीन जनाको मृत्यु

इनेप्लिज २०७९ फागुन ९ गते ०:११ मा प्रकाशित

अमेरिकाकाको शिकागोको अन्तरराज्यीय राजमार्गमा गोली चल्दा तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको इलिनोइसको प्रहरीले जनाएको छ ।

राजमार्गमा गोली चल्दा दुई किशोर र एक शिशुको मृत्यु हुनुका साथै तीन जना घाइते भएका अधिकारीहरूले सोमबार बताए ।

गत आइतबार राति करिब १०ः३० बजे गोली प्रहार भएको हो । शिकागको दक्षिण तर्फ १११ औं मार्ग नजिकैको आई-५७ द्रुतमार्ग (एक्सप्रेसवे)मा उक्त घटना घटेको इलिनोइस राज्यका प्रहरी जोश रोबिन्सनले भने।

घटनामा १९ वर्षीय नासिर हल, १३ वर्षीय विलियम स्मिथ र एक वर्षीया ए-मारा हलको मृत्यु भएको कुक काउन्टी चिकित्सा जाँच कार्यालयले जनाएको छ ।

पीडितको गाडी राजमार्गलाई छाडेर सडक बाहिर ठोक्किएको थियो । घटनास्थलमा दुई जना मृत फेला परेका थिए र चार जनालाई अस्पताल लगिएको रोबिन्सनले भने। चार मध्ये एकको पछि मृत्यु भएको उनले बताए ।

रोबिन्सनका अनुसार अनुसन्धान अझै पनि प्रारम्भिक अवस्थामा भएको बताए । राज्य प्रहरीले संदिग्ध पक्राउ गरेको छैन भनि एबिसीन्यूजले समाचार लेखेको छ।

प्रतिक्रिया