अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्समा कवाज (परेड)मा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

इनेप्लिज २०७९ फागुन ८ गते १२:०१ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्समा कवाज (परेड)मा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ४ घाइते भएको प्रहरीले बताएका छन् ।

मार्डी ग्रास समारोह सुरु हुनु अघि न्यू अर्लिन्सको कवाजमा गोली चलेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ । घटनास्थलबाट एकजना संदिग्धलाई पक्राउ गरी दुई थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

गत आइतबार राति न्यु अर्लिन्सको क्रेवे अफ ब्याचस परेड(कवाज)मा पाँच जनालाई गोली हान्दा एक जनाको मृत्यु भएको हो ।

तीन जना पुरुष र दुई महिला गरी पाँच जना घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । न्यू अर्लिन्स प्रहरी विभागका अनुसार ती मध्ये एक जना नाबालक छन्।

घाइते भएका एक पुरुषको अस्पतालमा मृत्यु भएको हो । पीडित बालिकासहित अन्य चार जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

न्यु अर्लिन्स निवासी १९ वर्षीया क्यामरिन लाफ्लेउरका अनुसार उनी कवाज हेर्दै थिइन् तब अचानक सडकमा गोली चल्यो । त्यस पछि आतंक र भागदौड मच्चियो ,उनले भनिन ।

लामो समय देखि बस्ने ४९ वर्षीया क्रिस्टी बोवरम्यानले आइतबार राति भएको घटनाले मार्डी ग्रास परेडमा गोली हानाहान भएको तेस्रो पटक देखेको बताइन्।

प्रतिक्रिया