लघुकथा-निम्तो

अरुणबहादुर खत्री “नदी” २०७९ माघ २० गते ११:३४ मा प्रकाशित

उसकी बहिनीको विवाहको टुङ्गो भयो । त्यो उसका लागि एकदमै हर्षको कुरा थियो । एउटा अभिभावकत्व उसले पूरा गर्ने दिन आउँदै थियो ।

हर्ष र दुःखको क्षणमा त हो आफन्त, साथीभाइ चाहिने ! उसले विवाहको निमन्त्रणा आफ्नो कार्यालयका सम्पूर्ण साथीहरूलाई ग¥यो । स्कुल, क्याम्पस पढ्दाका मिल्ने मित्रहरूको घरघरमा निमन्त्रणापत्र पु¥यायो, “मेरी बहिनीको विवाहमा आउनुहोला है !”

“किन नआउनु ! आइहाल्छौँ नि !” सबैले बढो उत्साहपूर्वक यस्तैयस्तै भने ।
निमन्त्रणा गरेकाहरूको सङ्ख्या अन्दाज गरेर विवाह–भोजको तयारी गरियो । नाता पर्ने र छिमेकीहरू त आए तर, कार्यालयका साथीहरू र स्कुल, कलेजका मित्रहरू भने कोही पनि आएनन् । तयार गरेको भोज बढी भएर खेरै गयो ।
बैनीको विवाह सकिएपछि ऊ पुनः काममा गयो ।

“बहिनीको विवाह कस्तो भयो कुन्नि ! अन्त जन्ती जानुपरेकाले आउन सकेनौँ ।” सबैले यस्तैयस्तै बहाना बनाए । र, भने, “तपाईंको बिहेमा चाहिँ हामी जसरी भए पनि आउँछौँ !”

ऊ निःशब्द थियो । कार्डमा— “कृपया उपहार र नगदको कस्ट नगर्नुहोला,” भनेर लेखिदिएको भए मेरी बहिनीको विवाहोत्सवमा यिनीहरू पक्कै आउने रहेछन् ! उसको दिमागमा भने यस्तैयस्तै कुरा खेलिरहेको थियो ।
सामाखुसी मार्ग, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४

प्रतिक्रिया