मधानी महायज्ञमा भोजपुरी सुपरस्टार पवन सिंह मौलापुर आउँदै

इनेप्लिज २०७९ माघ १५ गते १२:४१ मा प्रकाशित

रौतहट

रौतहटको मौलापुर नगरपालिकाले आयोजना गर्ने मधानी महायज्ञमा भारतीय कलाकारहरु आउने भएका छन् । फागुन ६ गते महाशिवरात्रीको अवसरमा हुने मधानी महायज्ञमा भारतीय भोजपुरी सुपरस्टार तथा गायक पवन सिंह मौलापुर आउने भएका छन् । मौलापुर नगरपालिकाको पतौरामा अवस्थित प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पु¥याउन मौलापुर नगरपालिकाले मधानी महायज्ञ गर्दै आएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसहित भारतका विभिन्न गायक तथा चर्चित कलाकारहरुले मधानी महायज्ञमा सहभागिता जनाइसकेका छन् । यस वर्ष मधानी महायज्ञको अवसरमा नेपाल र भारतका चर्चित कलाकारका साथै सन्त र खेलाडीहरुको पनि सहभागिता रहने मौलापुर नगरपालिकाले जनाएको छ । नगर प्रमुख रिनाकुमारी साहले मौलापुर नगरपालिकाको वार्षिक कार्यक्रमको रुपमा विगतका वर्षहरुदेखि नै मनाइँदै आएको मधानी महायज्ञमा यसपटक कुस्ती खेलको आकर्षण थपिएको र नेपाल तथा भारतका चर्चित कुस्तीबाजको आकर्षक प्रतियोगिता देख्न पाइने बताएकी छन् ।

पुरातत्वविदहरुले पतौराको पुरातात्विक महादेवको अवशेष बुद्धकालीन भएको बताउँदै आएका छन् । अति प्राचीन मन्दिर भएकोले मन्दिरलाई विश्व सम्पदा सूचीमा दर्ता गराउन मौलापुर नगरपालिकाले प्रयास गर्दै आएको छ । हरेक वर्ष लाखौँ दर्शकको सहभागिता रहने गरेको मधानी महायज्ञको माध्यमबाट पुरातात्विक महादेव मन्दिरको प्रचारप्रसार नेपाल र भारतमा भइरहेको छ । सामाजिक संजालमार्फत पुनित इसर, पवन सिंह लगायत चर्चित भारतीय कलाकारहरुले मौलापुरको पुरातात्विक महादेवका साथै मधानी महायज्ञको प्रचारप्रसार गरेका भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया