सम्झनामा स्वर किन्नरी तारा देवी तथा सम्मान

इनेप्लिज २०७९ माघ १० गते २३:०४ मा प्रकाशित

काठमाडौँ- नेपाली सांगीतिक क्षेत्रका स्वर किन्नरी तारा देवीको १७औं स्मृति दिवसमा ‘ सम्झनामा तारा देवी ‘ कार्यक्रम गरी मनाइएको छ । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरकी धनी तारा देवीका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन् ।

स्मृति दिवसमा तारा देवी स्मृति फाउण्डेशनले विशेष सांगीतिक समारोह तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । तारा देवीद्वारा स्वरबद्ध तथा जन कवि केशरी धर्म राज थापाको शब्द तथा संगीत रहेको काली पारि दाई बोलको गीत गुनगुनाउँदै मञ्चमा उक्लिन् ज्ञानु राणा ।

हराए झैँ केहि लाग्छ भन्दै मञ्च आएर तताइन् गीता पाण्डेले अनि आमा भएर बाची हेर बोलको गीतमा स्वर भरिन् जिना रसाइलीले । यस्तै प्राश्ना शाक्यले उकाली ओरालीहरुमा बोलको गीत गाइन् । फुलको थुंगा बहेर गयो गीतमा संगीता शाक्य को जादुमय स्वरको प्रस्तुति रहेको थियो। सन्जिब आले र गीता पाण्डेले गाएको ‘ फेरी भेट भै गयो बेला ‘ गीत गाउँदा दर्शकबाट पनि उस्तै वाहवाही पाएका थिए।

गायिकाहरु अम्बिका राई, सरिता शाही , त्रितिया गुरुङ,पुष्मा नेपाली लगयात युगल गीतमा गायकहरु संजीव आले , किशोर बिश्वकर्मा,धर्म मानन्धर लगयातले साथ दिएका थिए। तारा देवीका १५ भन्दा बढी गीतहरु प्रस्तुत गरिएको थियो।तारा देवीको सम्झनाले कार्यक्रमस्थल तारा देवीमय बनेको थियो।

कार्यक्रममा गीतकार यादव खरेल , संगीतकार माणिक रत्न स्थापित तथा गायिका शुशिला कंसाकारलाई तारा देवी स्मृति सम्मान एवं नगद २५ हजार १ रुपया अर्पण गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेलले तारा देवीले राष्ट्रका लागि गरेको योगदानको चर्चा गरे । उनले मुलुकको मौलिकता बनाउनका लागि अर्को तारा देवी जन्माउन जरुरी रहेको धारणा राखे । स्रष्टाहरूलाई राज्यले उचित स्थान दिनुपर्ने उनको भनाइ छ ।

फाउण्डेशनले स्वर किन्नरीलाई बचाई राखेकोमा फाउण्डेशन धन्यवादका पात्र रहेको भनाइ थियो।
कार्यक्रममा तारा देवीको सांगीतिक व्यक्तित्वको चर्चा गर्ने अधिकांशले उनले स्वर दिएका सबै गीतको उचित संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए। यसका साथै नेपाली सांगीतिक स्वर्णयुगलाई उचाइमा पुर्‍याउन तारा देवीको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए।

आफ्नो अद्वितीय गायनबाट सबैलाई आकर्षण गरेका तारा देवीलाई स्वर किन्नरीको उपाधि प्रदान गरिएको थियो । तारा देवीका अधिकांश गीतहरु सदाबहार रहेका छन्।

प्रतिक्रिया