दक्षिण अफ्रिकामा नेपाली विद्यार्थीको मृत्यु सम्बन्धी नेपाल दूतावास प्रीटोरियाको जानकारी :दु:खद खवर ! हार्दिक श्रद्धाञ्जली !

इनेप्लिज २०७९ माघ ३ गते १२:२९ मा प्रकाशित

नेपालको बाग्मती प्रदेश, काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका वडा नं. ५, जोरपाटी स्थायी घर भई दक्षिण अफ्रिकाको ग्राण्ड सेन्ट्रल एअरपोर्ट, मिडरयाण्डस्थित Flight Training Services (FTS) प्रशिक्षण संस्थामा ब्यवसायिक पाइलट लाइसेन्स कोर्समा अध्ययनरत नेपाली विद्यार्थी प्रथम सुवेदी (राहदानी नं. ११८४४९२१) को हिजो मिति २०७९ साल माघ १ गते आइतवार बिहान उडान प्रशिक्षणको क्रममा जोहानेस्बर्गको एफएनबी रंगशालाको आसपास क्षेत्रमा विमान दुर्घटना हुँदा असामयिक निधन भएको छ ।

उक्त विमान दुर्घटनामा डच प्रशिक्षक Arian Assad को समेत मृत्यु भएको पुष्टि भएको छ । दूतावासका कूटनीतिक कर्मचारीहरूसँग भएको भेट, छलफल एवं कुराकानीमा पाइलट प्रशिक्षण संस्था FTS, EMS Chaplaincy and Trauma Support Office, Johannesburg Hillbrow Mortuary And Forensic Services एवं अन्य दक्षिण अफ्रिकी निकायका अधिकारीहरूले उल्लिखित नेपाली विद्यार्थी र प्रशिक्षकको विमान दुर्घटनामा मृत्यु भएको आधिकारिक जानकारी दिनुभएको र निजहरूको मृत्यु सम्बन्धी पोष्टमार्टम रिपोर्ट केही दिनभित्र उपलब्ध हुने बताउनु भएको छ ।

मृतक नेपाली विद्यार्थीको शव नेपाल पठाउने एवं अन्य राहत, क्षतिपूर्ति लगायतका विषयमा पाइलट प्रशिक्षण प्रदायक संस्था Flight Training Services (FTS), पाइलट प्रशिक्षणका लागि दक्षिण अफ्रिका पठाउन सहजीकरण गर्ने नेपाली संस्था Kathmandu Alliance Education र मृतकका परिवारजनसँग दूतावासबाट आवश्यक छलफल, कुराकानी एवं समन्वय भैरहेको छ ।

पाइलट प्रशिक्षण उडानका क्रममा नेपाली विद्यार्थी प्रथम सुवेदीको असामयिक निधन भएकोमा नेपाली दूतावास, प्रिटोरिया गहिरो दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना एवं यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा भावपूर्ण समवेदना ब्यक्त गर्दछ ।

प्रतिक्रिया