जनताका गायक जीवन शर्मालाई टोरोन्टोमा बिशेष सम्मान ! 

मदन बस्नेत, क्यानाडा २०७९ पुष ३० गते १९:५८ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। बिगत चार दशकदेखि नेपालको अति बिकट गाउँहरुमा सारङी, मादल, गिटार र हार्मोनियम बजाउँदै भुँईमान्छेका गीतहरु गाउँदै जनतालाई ब्युँझाउँदै हिड्ने, युवाहरूलाई जगाउँदै हिड्ने र निरंकुश ब्यबस्था बिरोधि आन्दोलनलाई उठाउँदै हिँड्ने जनताका गायक जीवन शर्मालाई क्यानाडा टोरोन्टोमा जनवरी १३ शुक्रवारको साँझ एक कार्यक्रमकाबीच बिशेष सम्मान गरिएको छ।

नेपालको ब्यबस्था परिवर्तन र राजनीतिक आन्दोलनका मोर्चाहरुमा गीतसंगीतको माद्यमबाट जनतालाई जागरुक गराउन वहाँले पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको कदर गर्दै टोरोन्टो जिटिए क्षेत्रका नेपालीहरुले स्वतस्फूर्त रुपमा वहाँलाई सम्मानित गरेका हुन्।

कार्यक्रममा आयोजक समितिका तर्फबाट कार्यक्रम संयोजक बिमल बस्नेतले गायक जीवन शर्मालाई फुलगुच्छाले स्वागत गर्नु भएको थियो भने गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिब चिरञ्जीवी घिमिरेले कदर पत्र प्रदान गर्नु भएको थियो। टोरोन्टो नेप्लिज स्पोर्ट्स क्लबका सकर कोच तथा टिम म्यानेजर रमेश थापाले गायक शर्माको सांगीतिक यात्रा र नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनमा वहाँले पुर्याउनु भएको योगदानकोबारेमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रमका दौरान गायक शर्माले आफ्ना कालजयी गीतहरु सुनाउनुका साथसाथै जीवन यात्राका क्रममा भोग्नु परेको आफ्नो तितोमिठो अनुभव पनि सुनाउनु भएको थियो। गायनका क्रममा वहाँलाई क्यानाडामा नेपाली संस्कृति र संगीतको संरक्षणमा जुटेको नेपाली मौलिक सांगीतिक ब्याण्ड हिमालयन भाईब्सले साथ दिएको थियो। अनौपचारिक रुपमा संचालन गरिएको उक्त कार्यक्रम नेपालमा प्रसिद्ध लोकगायक बुद्दिसागर बस्यालले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो। छोटो समयकालागी कार्यक्रममा उपस्थित भएका गायक, संगीतकार एवं गीतकार राजनराज सिवाकोटीले गायक जीवन शर्माको सम्मानमा शर्माको चर्चित गीत “सिमली छायँमा बसि” गाउनु भएको थियो।

कार्यक्रममा क्यानाडा जिटिए क्षेत्रमा विभिन्न पेशा र ब्यबसायमा संलग्न नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया