कृष्ण बजगाईंमा ‘जेम्स बन्ड सिन्ड्रोम’

इनेप्लिज २०७९ पुष १० गते १०:२१ मा प्रकाशित

काठमाण्डौं, २५ डिसेम्बर, २०२२

बेलायत निवासी डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईको ‘उमिहोतारु’ नियात्रासङग्रहको भर्चुअल लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतले शनिवार आयोजना गरेको कार्यक्रममा अमेरिका, बेलायत, जापान र भारतका साहित्यकारहरुले उमिहोतारुबारे आआफ्नो धारणा प्रस्तुत गरे।

बजगाईंका अघिल्ला तीन नियात्रासङ्ग्रहको विश्लेषण गरेर ‘नियात्रामा नौलो आयाम’ पुस्तक प्रकाशन गरेका समालोचक डा. विदुर चालिसेले चौथो नियात्रासङ्ग्रह उमिहोतारु अरु कृतिको तुलनामा फरक रहेको बताए । चालिसले भने, ‘विषयवस्तु नयाँ छन् । प्रस्तुती शैली रोमाञ्चक देखिन्छ ।’

समालोचक प्रा. डा. कपिल अज्ञातले बजगाईंका नियात्रामा अनुभव र ज्ञान दुबै भएको धारणा राखे । प्रतीक ढकाल, दामोदार पुडासैनी र कृष्ण बजगाई नियात्राका त्रिमूर्ति भएको बताए । अज्ञातले ‘कोरा भावुकता र यात्राका विवरण नियात्रा होइन । सन्तुलित र व्यवस्थित लेखन नै नियात्रा हो । नियात्रा मार्फत अनुभव र ज्ञान दुबै प्राप्त हुन सकोस् । बजगाईका नियात्रामा दुबै छन् । उमिहोतारु पढेपछि महत्वपूर्ण विषयमा ज्ञान दिने काम नियात्राको रहेछ भन्ने लागेको बताए ।

अमेरिका निवासी साहित्यकार विश्वराज अधिकारीले नेपाली साहित्यमा बजगाईको योगदान उल्लेख गर्दै नियात्रामा संग्रहित ‘बतासे सहरमा बादलको गेट’ शीर्षकको नियात्राबारे चर्चा गरे । उनले भने, ‘बजगाईं अरुलाई पनि सहयोग र प्रोत्साहान गरेर साहित्यमा स्थापित गराउन खोज्ने साहित्यकार हुन् । बजगाईं समकालीन साहित्य डट कम र अनुसन्धानमूलक साहित्यि जर्नल प्रवासनका प्रधानसम्पादक हुन् । उनको साहित्यिक योगदान विशिष्ट छ । बतासे सहरमा बादलको गेट उमिहोतारु भित्रको नियात्रा पढिरहँदा पाठक आफै त्यहाँ पुगेको झैं लागिरहन्छ । यसले मनोरञ्जनमात्र हैन जानकारी पनि दिन्छ । ती जानकारीको ऐतिहासिक महत्वका छन् ।’

अमेरिकाको टेक्सासमा रहेका साहित्यकार खेमराज पोखरेलले संग्रहमा रहेको ‘योनि म्युजियम चियाउँदा’ शीर्षकको नियात्राबारे चर्चा गरे । पोखरेलले बजगाईको नियात्रामा गतिशिलता, जानकारी र निजात्मकता भएको उल्लेख गरे । योनि चेतनालाई नियात्रा मार्फत आकर्षक बनाइएको छ । संसारभरिका योनिका महत्वहरु छन् । इमान्दारपूर्वक लेखिएको यो नियात्रा एकदमै राम्रो छ । उनी एकदम राम्रा नियात्राकार हुन्, पोखरेलले भने ।

जापान निवासी साहित्यकार प्रकाश पौडेल ‘माइला’ले प्रवासमा भएर पनि निरन्तर लेखिरहने बजगाईं सफल स्रष्टा भएको बताए । ‘लोभलाग्दो किसिमले उहाँले निरन्तर स्तरिय लेखिरहनुभएको छ, पौडेलले भने ।

नेपालबाट सहभागी साहित्यकार तथा टेलिभिजनका कार्यक्रम प्रस्तोता मोहराज शर्माले बजगाईका प्रायः नियात्रामा नेपालको प्रसंग आएको बताए । हरेक नियात्राको क्लाइमेक्समा नेपाल जोडिएको छ । संसारका विभिन्न विश्वविख्यात कविहरुको निवास स्थान र म्युजियम जाँदा उहाँ लक्ष्मीप्रसाद देवकोटा सम्झनुहुन्छ । लेखनाथ पौड्याल सम्झनुहुन्छ । नेपालको अवस्थाको चिन्ता प्रकट गर्नुहुन्छ,’ शर्माको भनाई थियो ।

बेलायतबाट प्रकाशन हुँदै आएको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय साहित्यिक जर्नल प्रवासनका सम्पादक डा. कृष्ण उपाध्यायले बजगाई सफल नियात्राकार भएको भन्दै तारिफ गरे । लेखकमा ‘जेम्स बन्ड सिन्ड्रोम’ देखिएको बताए । कुनै पनि स्थान र घटनालाई सुक्ष्म तवरले हेर्ने दृष्टि उहाँमा छ । उहाँले पाठकलाई विषयवस्तुमा गहिरो तवरले लानुहुन्छ । नयाँ प्रवृत्ति उहाँमा के देखिन्छ भने सुक्ष्म चिजलाई खोतलेर त्यसमा आफ्नो पन हाल्नुहुन्छ । उहाँको चिन्तन प्रणाली काव्यिक छ ।

नियात्राकार राजेन्द्रमान डंगोलले उमिहोतारुमा बजगाईले यात्राको दौरानमा प्रकृति, मानव र समाजसंगको अन्तरक्रिया र अनुभूतिहरुलाई कलात्मक ढंगबाठ प्रस्तुत गरेका छन् । उमिहोतारु प्रतिकात्मक, विम्बात्मक, सूचनामूलक, कौतूहल र ओजपूर्ण छ, डंगोलले भने ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ भाषाविद् तथा समालोचक प्रा.डा. माधवप्रसाद पोखरेलले बजगाईको उमिहोतारुमा आलोक र उज्यालाका कुरा भएको उल्लेख गरे । पोखरेलले लेखक र आफ्नो जन्मस्थान एकै भएको स्मरण गराउँदै डायोस्पोरा लेखनका बारेमा प्रकाश पारे। ‘उहाँ डायोस्पोरा होइन परदेशी हो । डायस्पोरा शब्दलाई भारतीय नेपालीहरु मन पराउँदैनन् । देशले टिक्न नदिएर जानेहरुलाई डायस्पोरा भन्नुपर्ने हुन्छ । हामी देश छाडेर गएका हैनौ सीमानाले गर्दा त्यस्तो भएको भन्छन् भारतिय नेपालीहरु । उनले प्रवासी र परदेशी शब्द छुट्याउँदै भने, ‘आफ्नो मातृभूमि फर्केर आउने परदेशी र नेपाल नआउने प्रवासी नेपाली हुन् ।’

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उमिहोतारुमा २१ नियात्राहरु संग्रहित छन् । समकालीन साहित्य प्रतिष्ठान, बेलायतका सचिव डा. लेखप्रसाद निरौलाद्वारा सञ्चालित कार्यक्रम भुँडीपुराणका प्रकाशक केशवप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उमिहोतारुका लेखक कृष्ण बजगाई, समालोचक डा. फणिन्द्रराज निरौला, साहित्यकार पशुपति पराजुली ‘सालघारी’, प्रा.डा. शिव गौतम, केशव पराजुली लगायतले आआफ्नो धारणा राखेका थिए । लेखक बजगाईका विभिन्न विधाका चौधवटा पुस्तकहरु प्रकाशित छन् । उमिहोतारु उनको चौथो नियात्रा कृति हो । डायोस्पोरामा रहेर पनि साहित्य लेखन, पत्रिका र जर्नल प्रकाशन निकै कठिन कार्य भएको बताउँदै सहभागीहरुले बजगाईको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया