पूर्व मिस नेपाल उषा खड्गी अहिले ठूलो चिन्तामा छिन्, छोराछोरीको मानसिक अवस्थालाई लिएर। गत जेठ २६ गते भक्तपुर जिल्ला अदालतबाट पारपाचुके गरेकी उषा अहिले अनौठो दृश्यको साक्षी बनिरहेकी छन्।
उनी बसिरहेकै घरमा उनका पूर्वपति जीपीले अर्की श्रीमती भित्र्याएका छन्। दिनहुँ जीपीकी कान्छी पत्नीसँग उषाको जम्काभेट हुन्छ।
उषा आफ्नो तनाव व्यवस्थापन गर्न सक्छिन्। तर उनका छोराछोरी यो सबै कुरालाई सामान्य रुपमा बुझ्ने भइसकेका छैनन्। उनीहरुलाई कस्तो मानसिक असर पर्ला सोच्दासोच्दै उषा तनावमा पुग्छिन्। जीपीको बिहेको खबरले सबैभन्दा विक्षिप्त उनकी १७ वर्षकी छोरी बनेकी थिइन्।
आफ्नो बुबाको बिहेको खबर आमालाई सुनाउँदै उनकी छोरीले भनेकी थिइन्, ‘मामु, आज ड्याडीको बिहे रे, यही घरमा भित्र्याउने रे। हजुर यहाँ नबस्नुस्।’ यो गत मंसिर १९ गते बिहानको कुरा थियो।
त्यसपछि उषा आफ्ना दुई छोराछोरी लिएर दुई दिन माइतीमा चुपचाप बसिन्। दुई दिन उनको दिमागमा बारम्बार एउटै कुरा खेलिरह्यो, ‘छोराछोरीको मानसिकतामा कस्तो असर पर्ला? एउटै घरमा हामी कसरी बस्नु?’
प्रतिक्रिया