संसदीय अभ्यास अनुभव आदानप्रदान

इनेप्लिज २०७९ मंसिर १९ गते ११:०५ मा प्रकाशित

विराटनगर,१९ मङ्सीर(रासस): संसदीय पत्रकार मञ्च प्रदेश नं १द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभयो ।

दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । संसदका समाचार सङ्कलन गर्ने पत्रकारहरुको संसदमा भोगेका तितामिठा अनुभव, प्राप्तको ज्ञान, सत्तापक्ष, प्रतिपक्ष एवं विषयगत समितिहरुले खेलेका भूमिका, संसदमा सांसदहरुले प्रयोग गर्ने शून्य समय तथा विशेष समयका विषयमा अनुभव साटासाट गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

सो अवसरमा सचिव पराजुलीले शून्य अवस्थाबाट जागेको प्रदेश सभा थोरै समयमा धेरै काम गरेको बताउनुभयो । उहाँले पाँच वर्षको पूर्णअवधि भित्रै प्रदेश नं १ मा संशोधनसहितको ६२ वटा कानून निर्माण, प्रदेश सभा भवन निर्माण देखि विकासका थुप्रै काम भएको जानकारी दिनुभयो । सचिव पराजुलीले पछिल्लो समयमा सङ्घीयता माथि प्रश्न उठिरहेको अवस्थामा सञ्चारकर्मीहरुले आफ्ना सीप, क्षमता, दक्षता र प्रविधि प्रयोग गरी यसको असल पक्षका बारेमा उजागार गर्न आग्रह गर्नुभयो ।

आयोजक मञ्चका अध्यक्ष गणेश लाम्सालको अध्यक्षतामा भएको सो कार्यक्रमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासङ्घका पूर्वअध्यक्ष विक्रम लुँइटेल,मञ्चका उपाध्यक्ष बाबुराम भण्डारी,युएनडिपीका प्रतिनिधि डिलादत्त पन्त र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनालले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया