‘कुभिण्डोको कथा’का साथ अन्तर्राष्ट्रिय नाट्य महोत्सव सकिँदै

इनेप्लिज २०७९ मंसिर १७ गते ३:३७ मा प्रकाशित

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सकिदैंछ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो ।

समापनको दिन दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन हुँदैछ । सो कार्यक्रममा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गर्नेछन् ।

त्यस्तै समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन हुँदैछ । मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको लोक कथामा आधारित यो नाटक प्रनिश मगरले लेखेका हुन् । विकास जोशीको सह दिर्नेशन र पै्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

औपचारिक समापन कार्यक्रम भने साँझ ६ बजे हुँदैछ । जसमा नेपालका सरकारका अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा तथा विभिन्न देशका निर्देशक, कलाकारहरुको आथित्यता रहनेछ ।

आठौं दिन शुक्रबार के के भए ?

नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ र अर्जेन्टिनाको नाटक ‘नोम्याड’ मञ्चन भएको थियो ।

शुक्रबार राजेश सिंह निर्देशित भारतको ‘ब्ल्याकबोर्ड ल्याण्ड’ युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको कथा बुनेको थियो । कथा अगाडि बढ्दै जाँदा, उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँदै शारीरिक हिंसामा उत्रन्छन् ।

त्यस्तै सांगितिक तथा शारिरीक शैलीको कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गरेको थियो ।

शुक्रबार ‘किन चाहिन्छ रङ्गमञ्च समीक्षा ?’ शीर्षकमा प्यानल डिसकसन भएको थियो । लेखक, समीक्षक ध्रुवसत्य, रङ्गकर्मीहरु नम्रता केसी र केदार श्रेष्ठका साथ सुरज सुवेदीले अन्तरक्रिया गरेका थिए । रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया भएको थियो ।

साथै नेपाल र भारतको कलाकारहरु मिलेर ‘टुगेदर एण्ड अलोन’ शीर्षकमा चौतारी नाटक ‘प्लेब्याक थिएटर’ भएको थियो । जसमा गुञ्जन दिक्षित, लक्ष्मी प्रिया लगायत कलाकारले प्रस्तुति दिएका थिए । त्यस्तै शुक्रबारै साँगितिक कविता वाचनमा युवा कविहरु रसिक राज, देव ब्रत, भूमिका थारु, अनुप न्यौपाने, हिरादेवी वाइवा र सारस चरीले कविता सुनाएका थिए ।

तस्वीरहरुः रिजन परियार/निटफेस्ट

प्रतिक्रिया