नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के के हुँदैछ ?

इनेप्लिज २०७९ मंसिर १२ गते १०:४३ मा प्रकाशित

बिहानी प्रेस नोट, चौथो दिन, काठमाडौं, मंसिर १२नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के के हुँदैछ ?

काठमाडौंले छेकेको काठमाडौं बाहिरको रङ्गमञ्चको कुरा

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ । चौथो दिन सोमबारदेखि  प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ । त्यस्तै नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा तय छ ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन हुँदैछ । साँझ ७ः३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन् ।

दुई नेपाली नाटक

सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदैछ । साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ ।

‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथा बारे बताउँछ । नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा, सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ ।

त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन् । रंगमन्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरु आउन थाल्नेछन् । यी प्रश्नहरुसँगै दर्शकहरुले आफ्नो अनुभवको आधारमा आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स–साना विवरणहरु याद गर्ने प्रयास यस नाटकले गराउनेछ ।

विशेष कार्यशाला

सोमबार २ बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ । ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो । रङ्गमञ्चलाई अझै समावेशी बनाउनका लागि यस कार्यशाला विशेष रहनेछ ।

त्यस्तै ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ ।

आइतबार के के भए ?

आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको थियो । क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत भएको थियो ।

त्यस्तै कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरु आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।

आइतबारै साँझ नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत भएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।

तस्वीरहरुः रिजन परियार/निटफेस्ट

प्रतिक्रिया