निटफेस्टमा अमेरिकाको एकल नाटक र रुसको पपेट नाटक मञ्चन

इनेप्लिज २०७९ मंसिर ११ गते १६:४० मा प्रकाशित

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन अमेरिका÷भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको छ ।

क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत भएको थियो ।

कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरु आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।

आइतबारै साँझ नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत भएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो ।

चौथो दिन सोमबार के के हुँदैछ ?

सोमबार माहेत्सवमा दुई नेपाली प्रस्तुति मञ्चन, कार्यशाला तथा प्यानल डिसकसनको कार्यक्रम रहेको छ । केही महिनाअघि मञ्चन भएका बहुचर्चित नेपाली नाटक ‘खुवालुङ’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुने समय तालिका रहेको छ । त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ ।

दिउँसो २ बजे मण्डला स्टुडियोमा ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला हुनेछ । चौथो दिनको अन्तिम कार्यक्रम साँझ ७ः३० बजे ‘काठमाडौंबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुनेछ ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।

तस्वीरहरुः रिजन परियार/निटफेस्ट

#nitfest #nitfest2022 #theatrefestival #celebratingdiversity

प्रतिक्रिया