माधवकुमार नेपालको जितले रौतहटवासीमा पलायो नयाँ आशा

इनेप्लिज २०७९ मंसिर ९ गते २२:४१ मा प्रकाशित

रौतहट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको विजयले रौतहटवासीमा नयाँ आशा पलाएको छ । रौतहट सदरमुकाम गौरका स्थायी निवासी नेपालले आफ्नो गृह क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजय भएका छन् ।

नेता नेपालले रौतहटबाट प्रतिनिधि सभाको चुनाव लड्नु र अत्यन्त सहज विजय बन्नुले रौतहटवासीको मनमा नेता नेपाल रहेको स्पष्ट देखिएको छ ।

रौतहटमा जन्म भई सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा अध्ययन गरेका नेता नेपाल अधिकांश जिल्लावासीसित बज्जिका भाषामै कुराकानी गर्छन् । रौतहटको प्रमुख भाषा बज्जिका हो । नेता नेपालले यसपटक बज्जिका भाषामा चुनावको सन्दर्भमा भिडियो पनि जारी गरेका थिए । देशका शीर्ष नेतामध्ये एक नेपालले बज्जिका भाषामा भाषण गर्ने गरेका तथा भिडियो पनि जारी गरेकाले अब बज्जिका भाषाको विकासमा पनि नेता नेपालबाट सकारात्मक सहयोग हुने विश्वास पलाएको बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले बताएका छन् ।

नेता नेपालले यसपटकको चुनावमा असम्भव वाचा खासै गरेका छैनन् । स्थानीय मतदाताको चाहना पनि रौतहटको भौतिक पूर्वाधारको विकासका साथै शिक्षा र स्वास्थ्यमा सुधार गर्नु हो । अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त नेताले चुनाव जितेपछि अब जिल्लाको विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास स्थानीयवासीमा पलाएको गौरका बुद्धिजीवीहरुको भनाइ छ ।

मानव विकास सूचकांकमा देशमा सबैभन्दा पछाडि परेको रौतहट जिल्लाको समग्र विकासमा नेपालले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास स्थानीयवासीमा रहेको गौरका रमेश सिंहको भनाइ छ । नेता नेपालको अगुवाइमा जिल्लाको पहिचान देशमा हुनेमा स्थानीयवासी विश्वस्त देखिएका छन् ।

नेता नेपालसित रौतहट क्षेत्र नम्बर १ का अधिकांश पालिका रहेका छन् । अधिकांश पालिका केन्द्रीय नेताको साथमा रहँदा पालिका सरकार र केन्द्र सरकार मिलेर जिल्लाको विकास हुने मनोविज्ञान जनमानसमा पलाएको छ ।

जिल्लाको स्वाभिमान भएकाले जननिर्वाचित नेताप्रति सर्वसाधारणको आशा हुनु स्वाभाविक भएको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंहले बताएका छन् ।

प्रतिक्रिया