सम्पूर्ण घेराबन्दीलाई चिर्दै आफ्नो विरासतलाई कायम राखे नेता प्रभु साह

इनेप्लिज २०७९ मंसिर ९ गते १२:२१ मा प्रकाशित

रौतहट

रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । सम्पूर्ण पार्टीको घेराबन्दीलाई चिर्दै स्वतन्त्र उम्मेदवार साहले जितको आफ्नो विरासतलाई कायम राखेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र लगायतका दलले चारैतिरबाट घेराबन्दी गरेको र नेकपा एसका स्थानीय नेताहरुले पनि खुलेरै अवरोध गरेको अवस्थामा साहले सबा सात हजार मतान्तरको फराकिलो जित हासिल गरेका हुन् ।

२०६४ सालदेखि निरन्तर संविधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यमा आफ्नै गृह क्षेत्र रौतहट ३ बाट निर्वाचित हुँदै आएका साहलाई यसपटकको निर्वाचन निकै कठिन हुने बताइएको थियो । नेकपा एमालेको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका साह विरुद्ध नेपाली काँग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवार बनेका उद्योगी ओमप्रकाश जयसवाललाई एमालेले आधिकारिक उम्मेदवार घोषणा गरेको थियो भने नेपाली काँग्रेस र जसपाको पूर्ण समर्थन रहेको थियो । लोसपाका स्थानीय नेताहरु पनि जयसवालकै पक्षमा खुलेर लागेका थिए ।

नेकपा माओवादी केन्द्रले विज्ञप्ति निकालेर साहलाई समर्थन गरेको भए पनि अधिकांश नेता तथा कार्यकर्ताहरु माओवादी उम्मेदवार धीरेन्द्र पटेलकै पक्षमा रहेका थिए ।

कुनै पनि पार्टीको आडभरोसाभन्दा नितान्त आफ्नै बलमा पहिलोपटक चुनावमा होमिएका साहले निरन्तर जितको विरासतलाई कायम राख्दा देशमा एक चर्चित नेताको रुपमा स्थापित हुन पुगेको उनका पूर्व स्वकीय सचिव विजय यादव निर्बिजले बताएका छन् ।

प्रतिक्रिया