अमेरिकाबाट प्रेम बानियाले रवि लामिछानेलाई लेखे यस्तो मार्मिक पत्र “तत्काल सरकारमा जाने नसोच्नु” (भिडियो सहित)

इनेप्लिज २०७९ मंसिर ७ गते १६:५२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ । रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट गर्नेहरुको लाम लागेको छ ।

यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलाई सुझाव दिँदै तत्कालै सरकारमा जान नहुने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । ‘

र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ । प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न । बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् ।

बानियाले लेखेको स्टाटस यस्तो छ : नेपाली राजनीतिको इतिहासमा ‘कहिल्यै नभएको’ एक अस्वभाविक राजनीतिक अभ्यास ‘ब्यालेट’मै देखाइदिए नेपाली जनताले ! अबको दस वर्ष देशमा कोको प्रधानमन्त्री हुनेछन् नामलिष्ट भित्तामा टाँसेर परदेसिएको म र मजस्ता परदेसिएका लाखौं नेपालीहरुका लागि यो ‘तीन पुस्तालामो खुशीको उभार’ हो ।

यसको अर्थ चाँडै त्यो नामलिष्टभन्दा बाहिरको उर्जाशील नयाँ पात्र प्रधानमन्त्री बन्ला र देश रातारात बनाउला भन्ने आशा छैन र यो सम्भव छैन तर देशले अब परिवर्तनको उडान सुरु गरेको र यसमा जनताको साथ रहेको सत्यचाहीँ छर्लंग भएको छ ! यससँगै यो उभारलाई सम्हाल्न र व्यवस्थापन गर्न सकिएन भने इतिहासकै डरलाग्दो खतरा पनि यसैसाथ आएको छ ।

त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ ।

अर्को कुरा, आहन नै बनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ यो रहनै हुन्न । र, यस्ता आहनहरु बदल्नैपर्छ । अर्थात् अबको संसदमा सशक्त प्रतिपक्ष नै स्वतन्त्र पार्टीको सवभन्दा उत्तम रोजाई हो । तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न । बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् !

अनि मैले प्रशस्त पटक रबिजीलाई यी मुद्दाहरुमा हामी कहिल्यै पछाडि पर्नुहुन्न भनेर अर्थाएको छु, जस्तो कि स्वाभिमान । जबसम्म देश र जनताले आत्मनिर्भरताको आधार बनाउन सक्दैनन् तबसम्म हाम्रो स्वाभिमान र इतिहासले हामीलाई गिज्याइरहेको हुन्छ ! त्यसैले भ्रष्टाचारका ठूला फाइलहरु उतारेसँगै देश र जनतालाई स्वाभिमानको गोरेटोमा अगाडि लैजान आत्मनिर्भरताका विषयहरुलाई उठाइहाल्नु पर्छ र जति सकिन्छ हिजोको राजनीतिले कत्लेआम गरेका स्वदेशी उद्योगहरुलाई पुनर्जीवन दिन सुरु गरिहाल्नुपर्छ ।

जस्ले मात्रै स्वदेशमा रोजगारीको अवसर बढाउँछ र आत्मनिर्भरता पनि ! हिजो राजनीतिले खाईभ्याएको भृकुटी कागज कारखानादेखि बुटवल धागो, गोरखकाली रबर उद्योग वा बीरगन्ज चिनी वा हिमाल सिमेन्ट वा अरु करिब तीन दर्जन उद्योगहरु ! जस्ले मात्रै स्वाभिमानको शीर अग्लो बनाउँछ । अनि यही अभ्यासको परिणामस्वरुप विदेसिएका नेपालीहरु नेपाल फर्किने बाटो पनि खुल्छ । यसै प्रयासस्वरुप जय स्वाभिमान टिमले यो सोचको ड्राफ्ट पनि गरिरहेको छ यी सबै विषयहरुलाई हामीले समृद्धि र स्वाभिमानको अभ्यासका रुपमा अघि लैजानु पर्छ । बाँकी एजेण्डाहरु क्रमश… र यी मेरा नितान्त व्यक्तिगत विचारहरु हुन् ।

https://www.youtube.com/watch?v=T4R0G9BihoQ

प्रतिक्रिया