निहारिकालाई करिश्माको गुनासो: तिमीले फिर्ता गरेको पैसा हेरेर दिनहुँ रुन्छु, म डिप्रेसनमा पुग्न आँटे (भिडियो सहित)

इनेप्लिज २०७९ मंसिर ३ गते ३:०३ मा प्रकाशित

‘कुमारी आमा’ निहारिका राजपूतको निजी तस्वीर पटक–पटक सामाजिक सञ्जालमा राखेर बच्कना देखाएकी अभिनेत्री करिश्मा मानन्धर अहिले आफैं तनावमा परेकी छन् । उनले निहारिकालाई फोन गरेर फकाउने प्रयास मात्र गरिनन्, यो विषयले आफू डिप्रेसनमै पुग्न आँटेको गुनासोसमेत सुनाइन् ।

मंगलबार निहारिका र उनका ‘पूर्वप्रेमी’ शिवराज श्रेष्ठको निजी तस्वीर करिश्माले अनायास फेसबुकमा हालेकी थिइन् । त्यसमा निकै नकारात्मक कमेन्टहरु आएपछि केही मिनेटमै उनले हटाइन् । फोटो हटाएपछि उनले निहारिकालाई फोन गरेर लामो गन्थन गरेकी हुन् । त्यतिले नपुगेर लगातार भ्वाइस म्यासेजहरु पनि पठाएको निहारिकाले बताएकी छिन् ।

‘उहाँको आवाज अलि लर्बराएको थियो, सायद नशामा हुनुहुन्थ्यो’, निहारिकाले भनिन् ।आफूले दिएको २० हजार रुपैयाँ निहारिकाले फिर्ता गरेकोमा करिश्माको सबैभन्दा ठूलो चित्तदुखाइ छ ।

उनले भनिन्, ‘हातमा आएको लक्ष्मीलाई तिमीले हेंला गर्नु हुँदैनथ्यो । अझै पनि त्यो पैसा जस्ताको तस्तै सुरक्षित छ । आएर लैजाउ । बढी चाहिन्छ भने पनि दिन्छु । तर, विनोद दाइ (श्रीमान) भएको वेलामा चाहिं बोलाउँदिनँ । डर लाग्यो मलाई ।’

निहारिकाले फिर्ता गरेको पैसाको थैलो हेरेर अहिले पनि आफू दिनहुँ रुने गरेको करिश्माले सुनाइन् ।‘यो कुरा विनोदलाई पनि थाहा छ । यो पैसाले मलाई अति पोलेको छ’, उनले भनिन् ।

करिश्मा थप भन्छिन्, ‘तिमी झूटो रैछौ । तर, मैले त तिमीलाई माया नै गरेको हो । तिमीलाई आफ्नो छोरी नै सम्झेको हो । मामुले तिमीलाई यति माया गर्छु, तिम्रो भाग्य हुनुपर्छ यस्तो मामु पाउन । तर, तिम्रो त औकात नै रहेनछ । मलाई आफ्नै छोरी कबु (कविता) ले भन्दा तिमीले धेरै पिरोल्यौ ।’

आफूले तस्वीर सार्वजनिक गरेको विषयमा पनि करिश्माले प्रष्टीकरण दिएकी थिइन् । डीएनए टेस्टको रिपोर्टले पनि आफूले हालेको तस्वीर सत्य सावित भएको उनको भनाइ छ । ‘मैले भन्न खोजेको पनि त्यही थियो कि बच्चाको बाबु त्यही व्यक्ति हो । तर, मानिसहरुले मलाई गलत बुझे । नानाथरि गाली गरिरहेका छन्’, उनले निहारिकासँग थप गुनासो गरिन् ।

निहारिकाले भने आफूलाई छोरी नभन्न आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘के मेरो ठाउँमा तपाईंको छोरी कविता भएको भए पनि यसैगरी तस्वीर सार्वजनिक गर्नुहुन्थ्यो ?’निहारिकाले करिश्मालाई कानूनी उपचार खोज्ने चेतावनी पनि दिएकी थिइन् ।

‘मलाई तपाईंसँग अब पुग्यो । मलाई छोरी र मेरो छोरालाई नाति नभन्नुस् । म तपाईंको कोही पनि होइन । अब मुद्दा खेप्न तयार हुनुस्’, उनले भनिन् ।

करिश्माले भने मुद्दामामिला गरेर आफूलाई दुःख नदिन आग्रह गरिन् । उनले अझै पनि निहारिका र उनको छोरालाई आफ्नै सन्तान जसरी सहयोग गर्न तयार रहेको बताइन् ।

यसैबीच, निहारिकाले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेकी छन् । करिश्माले सामाजिक सञ्जालमा राखेका तस्वीरहरुका स्क्रिनसटसहित ब्युरोलाई आफूले उजुरी गरेको निहारिकाले बताइन् ।

प्रतिक्रिया